अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य दोब्बर, सात देशले मात्र आपूर्ति बढाउन सक्ने

इरान युद्धका कारण तेल आपूर्ति अवरुद्ध भएपछि विश्व बजारमा मूल्य तीव्र रूपमा बढ्दै गएको छ । यसै अवस्थालाई मध्यनजर गर्दै ‘ओपेक प्लस’ का मन्त्रीहरूले आइतबार हुने बैठकमा उत्पादन कोटा बढाउने विषयमा छलफल गर्ने भएका छन् ।
अन्तर्राष्ट्रिय बजारमा अकासिएको तेलको मूल्यलाई नियन्त्रणमा ल्याउनु यस कदमको मुख्य उद्देश्य रहेको छ । विश्लेषकहरूका अनुसार ओपेक प्लसले दैनिक करिब १ लाख ८८ हजार ब्यारेलसम्म उत्पादन वृद्धि गर्ने निर्णय गर्न सक्ने सम्भावना छ ।
आपूर्ति बढाउन सक्ने देशहरू सीमित
यो वृद्धि ओपेक प्लसका पछिल्ला निर्णयहरूसँग मिल्दोजुल्दो हुने अनुमान गरिएको छ । तर उत्पादन क्षमता सीमित भएकाले वास्तविक रूपमा केवल सात देशहरूले मात्र आपूर्ति बढाउन सक्ने अवस्था रहेको बताइएको छ ।
साउदी अरेबिया, रूस, इराक, कुवेत, काजाकिस्तान, अल्जेरिया र ओमानले मात्र आपूर्ति बढाउन सक्ने क्षमता राख्छन् । इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणपछि महत्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ होर्मुज बन्द जस्तै भएको छ ।
विश्व बजार र नीतिगत प्रभाव
यस अवरोधले विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास आपूर्ति प्रभावित पारेको छ । आपूर्तिमा आएको यस्तो गिरावटले गर्दा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य झन्डै दोब्बर पुगेको छ ।
तेलको मूल्य वृद्धि भएसँगै त्यसको प्रत्यक्ष असर विश्वभरको मुद्रास्फीतिमा देखिन थालेको छ । विशेषज्ञहरूका अनुसार ओपेक प्लसले उत्पादन बढाउने घोषणा गरे पनि त्यसको वास्तविक प्रभाव भने सीमित हुने सम्भावना छ ।
स्याक्सो बैंकका विश्लेषक ओले ह्यान्सनले ओपेकसँग बजारमा ठूला र निर्णायक परिवर्तन ल्याउने विकल्पहरू धेरै बाँकी नभएको बताए । यसले गर्दा ओपेक प्लसको नीतिगत प्रभाव पहिलेको तुलनामा कमजोर देखिएको उनले उल्लेख गरे ।एजेन्सी

