एमाले बैठक बस्दैछ, राजीनामा माग्नेहरुलाई के गर्लान ओलीले ?

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकमा आज पनि बस्ने भएको छ । हिजोको बैठकमा पाँच उपाध्यक्षले समीक्षात्मक धारणा प्रस्तुत गरेपछि बैठक स्थगित भएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आज ११ः३० बजे बस्ने बैठकमा पार्टीको समग्र अवस्था र निर्वाचनका बारेमा छलफल हुने भएको छ । पार्टीका उपमहासचिव लेखराज भट्टले हिजोको बैठकमा अहिलेको अवस्थासम्मको समग्र समीक्षा र निर्वाचनका बारेमा लामो छलफल भएको बताए । आजको बैठकमा १२ जना पदाधिकारीले बोल्ने सूची छ । यसपछि नेताहरूको कार्यविभाजनको विषय आज छलफल हुने बताइएको छ । बैठक गुण्डुस्थित अध्यक्ष निवासमै बस्नेछ । हिजाेकाे बैठकमा एमालेको चार उपाध्यक्षले पार्टीको नीति र नेतृत्व पुनर्गठनको माग गरे । गुन्डु भक्तपुरमा जारी केन्द्रीय सचिवालय बैठकमा शुक्रबारको बैठकमा उपाध्यक्षहरू विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ र रघु पन्तले २१ फागुनको निर्वाचन परिणामले पार्टीको नीति र नेतृत्वको पुनगर्ठनको माग गरेको बताए । उपाध्यक्ष रामबहादुर थापाले भने अहिलेको नेतृत्वमा पार्टीलाई बलियो बनाएर जानु पर्ने धारणा राखेको एक नेताले बताए । ‘रामबहादुर थापाबाहेक अरु उपाध्यक्षले नेतृत्व र नीतिको समीक्षा गर्दै पुनर्गठनमा जोड दिनुभयो,’ ती नेताले भने, ‘अध्यक्ष केपी ओलीले उपाध्यक्षहरूको उठाएका प्रश्नको जवाफ दिँदै पनि जानुभयो । एक हिसाबले बैठकमा वाद-विवाद चल्यो ।’ बिहीबार दिउँसो १२ बजेदेखि सुरु भई ६ बजेसम्म चलेको बैठकमा ५ उपाध्यक्षले मात्र भनाइ राखेका थिए । उपाध्यक्षहरूले नेतृत्वमाथि प्रश्न उठाएपछि ओलीले त्यसको जवाफ फर्काएका थिए । पार्टीको मूल नेतृत्वमाथि नै प्रश्न उठाएपछि ओली आक्रोशित भएको ती नेताले बताए । गत पुसमा महाधिवेशन भए पनि नेताहरूको जिम्मेवारी तोकिएको थिएन । केन्द्रीय सचिवालयमा गरिएको प्रस्तावमा अध्यक्ष ओली समग्र पार्टी, उपाध्यक्षहरू रामबहादुर थापालाई सुशासन, सेवा प्रवाह, विष्णु पौडेललाई पार्टी विभागहरू, पृथ्वीसुब्बा गुरुङ सामाजिक विकाससम्बद्ध विभाग, गोकर्ण विष्टलाई पूर्वाधार, रघुजी पन्त मानवस्रोतको जिम्मेवारी दिएको छ ।

