नयाँ समावेशी संसद् सहिदहरुको बलिदानको उपजः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हिजो आफूहरुले बन्दुक उठाएकै कारण आज संसदमा हरेक क्षेत्रको प्रतिनिधित्व सम्भव भएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधन गर्दै प्रचण्डले अहिलेको समावेशी संसद् सहिदहरुको बलिदानको उपज भएको बताए । उनले भने, ‘‘बाहरिबाट हेर्दा यो भवन सिमेन्ट, इँट र फलामले बनेको छ तर यसको अन्तर्यमा हजारौं सहीदको बलिदान रहेको छ । हरेक वर्ग, वर्ण, जाति, लिंग र समुदायको प्रतिनिधित्व भएको यो इन्द्रेणी संसदका लागि हिजो हामीले बन्दुक उठायौं, आन्दोलन गर्यौं, यसका हरेक भित्ता बलिदानले रंगिएका छन् । सामन्तवादविरुद्ध हामीले उठाएको बन्दूकले ढोका नखोलेको भए कहाँबाट यहाँ प्रवेश गरेर मन्त्री बन्नुहुन्थ्यो उत्पीडित समुदायका प्रतिनिधिहरू ?’ संघीय संसदमा समावेशी तथा समानुपातिक प्रतिनिधित्व आफ्नो पार्टीको निर्वाचन परिणामभन्दा पनि ठूलो उपलब्धि भएको प्रचण्डको भनाइ थियो । उनले भने, ‘यो प्रतिनिधित्वको कथा रगतले लेखिएको छ । क्रान्तिले लेखिएको छ । पिठ्यूँमा दुधे बालक र काँधमा बन्दूक बोकेका महिलाहरूको बलिदानले लेखिएको छ, त्यसैले यो सम्मानित संसदमा जसको प्रवेश भए पनि म आफैं प्रवेश गरेजस्तो लाग्छ ।’ संयोजक प्रचण्डले प्रधानमन्त्रीमा बालेन्द्र शाहको उदय पनि क्रान्तिकै जित भएको टिप्पणी गरे । । उनले भने, ‘बालेन्द्र शाह काठमाडौंको मेयर हुँदै आज देशकै प्रधानमन्त्री बन्नुभएको छ। पार्टी फरक होला, तर मेरा लागि यो क्रान्तिकै संकल्पको जित हो ।’

