काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०८३/८४ को नीति तथा कार्यक्रम सोमबार संसद्मा पेस गर्दै छ । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अपराह्न ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले सरकारी नीति वाचन गर्नेछन् । राष्ट्रपतिको सम्बोधन र नीति तथा कार्यक्रमअघि दिउँसो २ बजे दुवै सदनको छट्टाछुट्टै बैठक बोलाइएको छ । आजैदेखि संघीय संसद्को बजेट अधिवेशन पनि सुरु हुँदै छ । प्रतिनिधिसभा नियमावलीको परिच्छेद ७ मा राष्ट्रपतिबाट सम्बोधन र नीति तथा कार्यक्रमसम्बन्धी व्यवस्था छ । बजेट अधिवेशनमा राष्ट्रपतिको सम्बोधनमा सरकारको नीति तथा कार्यक्रम उल्लेख गरेर दुवै सदनको संयुक्त बैठकमा वाचन गराइन्छ । राष्ट्रपतिले वाचन गरिसकेपछि नीति तथा कार्यक्रम प्रधानमन्त्रीले प्रतिनिधिसभा र राष्ट्रिय सभामा टेबुल गर्ने व्यवस्था छ । राष्ट्रपतिको सम्बोधनका लागि संसद् सचिवालयले आवश्यक तयारी गरिसकेको प्रवक्ता एकराम गिरीले बताए । ‘राष्ट्रपतिज्यूको सम्बोधनको व्यवस्थापकीय कार्य, अतिथि आमन्त्रणलगायत सम्पूर्ण तयारी पूरा भइसकेको छ,’ उनले भने । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रास्वपाको वाचापत्रअनुसारै नीति तथा कार्यक्रम निर्माण भएको बताए । ‘हाम्रो पार्टीको वाचापत्रअनुसारै आगामी नीति तथा कार्यक्रम र बजेट आउँछ,’ उनले भने । संसद् सचिवालयले जारी गरेको प्रतिनिधिसभाको वैशाख महिनाको क्यालेन्डरमा २८ वैशाखमा नीति तथा कार्यक्रम टेबुल गर्ने, ३० गते छलफल गरेर पारित गर्ने कार्यसूची छ । बजेट अधिवेशनको पहिलो बैठकमा सरकारले हालै ल्याएका आठवटै अध्यादेश पेस हुने भएका छन् । त्यस्तै, पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त बैठक आह्वानसम्बन्धी पत्र पनि पढेर सुनाइनेछ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस गरिनेछ । त्यस्तै, बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गरिनेछ भने बाधा अड्काउ फुकाउ आदेश अनुमोदनका लागि पेस हुनेछ । सरकारले बजेट अधिवेशनमा कम्तीमा ४५ विधेयक पेस गर्ने तयारी गरेको छ । यसका अलावा अध्यादेश प्रतिस्थापन विधेयक पनि ल्याउनेछ ।