मुद्दा फछर्यौटको आधारमा प्रधानन्यायाधीश सिफारिसः शिक्षामन्त्री पोखरेल

काठमाडौं । सरकारले कार्यक्षमताको हिसाबले प्रधानन्यायाधीशमा अहिलेसम्मकै राम्रो सिफारिस भएको जनाएको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानन्यायाधीश सिफारिसमा अहिलेसम्मकै सबैभन्दा राम्रो प्रक्रिया अपनाइएको बताए । यसपटक प्रधानन्यायाधीश सिफासिर गर्दा मुद्दाको फछर्यौट र कार्यक्षमतालाई मुख्य आधार मानिएको उनको भनाइ छ । पोखरेलले भने, ‘न्याय क्षेत्र सुधारका लागि नीतिगत रुपमा नै सुधार गर्ने प्रयास भएको छ । प्रधानन्यायाधीश सिफारिस गर्दा राजनीतिक नियुक्ति जस्तो देखिने गरेकोमा कार्यक्षमताका हिसाबमा सिफारिश भएको सम्भवतः यो पहिलो पटक हो ।’ प्रवक्ता पोखरेलले संघमा अधिकतम १८ वटा मन्त्रालय बनाउने गरि मन्त्रालय गाभिने प्रक्रियाको काम छिटै सम्पन्न हुने जानकारी समेत दिए ।

