लिपुलेक विवादमा नेपालसँग वार्ता गर्न तयार छौँ : भारतीय विदेश मन्त्रालय

भारतीय विदेश मन्त्रालयले लिपुलेक हुँदै भारतले कैलाश मानसरोवर यात्राको मार्ग सञ्चालन गरेको विषयमा नेपालसँग वार्ता गर्न तयार रहेको बताएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेपालसँग वार्ता गर्न तयार रहेको बताएका हुन् ।
सीमा विवाद समाधानका लागि भारत छलफल गर्न तयार रहेको जैसवालको भनाइ छ। भारतीय पक्ष द्विपक्षीय सम्बन्धका सबै मुद्दाहरूमा रचनात्मक कुराकानी गर्न खुला रहेको उनले जिकिर गरे। “हामी सीमा लगायतका विषयमा कुराकानी गर्न तयार छौँ, तर एकतर्फी रूपमा कृत्रिम विस्तारलाई मान्यता दिन सकिँदैन,” उनले थपे।
प्रवक्ता जैसवालले लिपुलेक मार्ग भएर सन् १९५४ देखि नै मानसरोवर यात्रा भइरहेको तर्क अघि सार्दै यसमा कुनै नयाँ विकास नभएको दाबी गरे। “यो मार्ग दशकौँदेखि प्रयोगमा छ, त्यसैले यसलाई नयाँ घटनाक्रमका रूपमा हेर्नु उचित छैन,” उनले भने।
यसअघि नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा आफ्नो अभिन्न भूभाग भएको र १८१६ को सुगौली सन्धिले त्यसलाई पुष्टि गर्ने भन्दै भारत र चीन दुवैलाई कूटनीतिक नोट पठाएको थियो।

