काठमाडाैं । चिनियाँ विदेशमन्त्री वाङ यीले आफ्ना इरानी समकक्षी अब्बास अराघचीसँग भेटपछि होर्मुज जलडमरूमध्यमा सुरक्षित र सामान्य आवागमन पुनः सुचारु गर्न सबै पक्षलाई आह्वान गरेका छन् ।

वाङ यीले चीन पूर्ण रूपमा युद्ध रोक्नुपर्ने पक्षमा रहेको बताउँदै शत्रुतापूर्ण गतिविधि पुनः सुरु हुनु स्वीकार्य नहुने बताएका छन् । उनले वार्तालाई निरन्तरता दिनु अनिवार्य रहेको उल्लेख गर्दै जारी युद्धप्रति बेइजिङ गहिरो रूपमा चिन्तित रहेको बताए ।

अमेरिका र इरानबीचको मुख्य विवादको विषय बनेको आणविक कार्यक्रमबारे बोल्दै वाङले भने, “आणविक हतियार विकास नगर्ने इरानको प्रतिबद्धताको चीन सम्मान गर्दछ । साथै, इरानलाई शान्तिपूर्ण प्रयोजनका लागि आणविक ऊर्जा प्रयोग गर्ने वैधानिक अधिकार पनि छ भन्ने चीनको मान्यता छ ।”

इरान आफ्नो तेल निर्यातका लागि चीनमाथि अत्यधिक निर्भर रहेको छ । युद्धअघि इरानको करिब ८० प्रतिशत तेल चीनले खरिद गर्ने गरेको बताइन्छ । इरानी विदेशमन्त्री अराघचीले वर्तमान परिस्थितिमा इरान–चीन सम्बन्ध अझ बलियो हुने विश्वास व्यक्त गरेका छन् ।

उनले तेहरान आफ्ना सर्तविपरीतको कुनै पनि सम्झौता स्वीकार गर्न तयार नरहेको पनि स्पष्ट पारे । अराघचीले भने, “हामी वार्तामा आफ्ना वैध अधिकार र हितको रक्षाका लागि सक्दो प्रयास गर्नेछौँ । हामी केवल न्यायोचित र व्यापक सम्झौता मात्र स्वीकार गर्छौं ।”

विश्लेषकहरूका अनुसार, चीनको पछिल्लो अभिव्यक्तिले इरानसँगको उसको बलियो कूटनीतिक र आर्थिक सम्बन्धलाई पुनः पुष्टि गरेको छ । यसले जारी शान्ति प्रक्रियामा पनि महत्त्वपूर्ण प्रभाव पार्न सक्ने आकलन गरिएको छ ।