अनामनगरको विवादास्पद ७ तले भवनमा चल्यो डोजर,के भन्छन् घरधनी ?

संघीय सरकारले काठमाडौँ महानगरपालिकासँगको समन्वयमा अनामनगरस्थित रुद्रमती (धोबीखोला) किनारमा निर्मित विवादास्पद सात तले भवनमा आइतबार डोजर चलाएको छ। घरको अगाडि भागमा मात्रै क्षति पुर्याएर डोजर फर्काइएको छ। महानगरले खोला किनारको मापदण्ड मिचेर बनाइए का संरचना र नक्सा विपरीतका भागहरू भत्काउन सुरु गरेको हो।
घरधनी इन्द्र चाम्लिङले आफूले करिब ५ वर्षअघि सबै कानुनी प्रक्रिया पूरा गरेरै भवन निर्माण सम्पन्न गरेको दाबी गरेका छन्। “वडा कार्यालयबाट नक्सा पास गराएर र नियमित रूपमा कर तथा राजस्व तिरेर बनाएको घरमा अचानक डोजर चल्दा म अचम्मित भएको छु,” चाम्लिङले सञ्चारकर्मीसँग भने। उनले प्रशासनको कार्यशैलीमाथि प्रश्न उठाउँदै आफ्नो क्षतिप्रति गहिरो दुःख व्यक्त गरे।
भवन भत्काउने कार्य भइरहँदा चाम्लिङले काठमाडौँका मेयर बालेन शाहको काम गर्ने शैली र जोशको प्रशंसा गर्दै उनलाई ‘देशभक्त नेता’ को संज्ञा दिए। यद्यपि, नागरिकका कुरा सुन्न छलफलको मौका नदिइएकोमा उनले चित्त दुखाए। उनले भने, “हामीले उहाँलाई भेट्न धेरै प्रयास गर्यौँ, तर सफल हुन सकेनौँ। एउटा नागरिकको कुरा सुनिदिएको भए अझ राम्रो हुने थियो।”
आफ्नो सात तले घरमा डोजर चलेको पीडा व्यक्त गर्ने क्रममा चाम्लिङले सरकार र महानगरको सुकुम्बासी नीतिमाथि रोचक व्यङ्ग्य प्रहार गरे। उनले भने, “म चाहन्छु कि नेपालका सबै सुकुम्वासीहरूको पनि यस्तै ७ तले घर होस् र उनीहरू पनि महलमा बस्न पाऊन्।”

