ट्रम्पलाई अमेरिकामै खतरा ,वासिङ्टनमै गोली चल्यो

अमेरिकाको वासिङ्टन डीसीस्थित वासिङ्टन हिल्टन होटलमा आयोजित ‘ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनर’ का क्रममा गोली चलेपछि राष्ट्रपति डोनल्ड ट्रम्पलाई सेक्रेट सर्भिसका एजेन्टहरूले आकस्मिक उद्धार गरेका छन्। शनिबार साँझ वार्षिक दिवाभोज कार्यक्रम चलिरहेको बेला अचानक गोलीको आवाज सुनिएपछि सुरक्षा सतर्कता अपनाउँदै राष्ट्रपतिलाई सुरक्षित स्थानतर्फ लगिएको हो।
प्रत्यक्षदर्शी र सार्वजनिक फुटेजहरूमा देखिए अनुसार, बैंक्वेट हलमा केही चिज पड्किएको जस्तो ठूलो आवाज आएलगत्तै राष्ट्रपति ट्रम्प र अन्य सहभागीहरू ज्यान जोगाउन टेबलमुनि लुकेका थिए। सो क्रममा हलभित्र उपस्थित मानिसहरू त्रसित हुँदै “तल बस्नुहोस्, तलै रहनुहोस्” भन्दै चिच्याइरहेको सुनिन्थ्यो। घटना लगत्तै हतियारधारी सेक्रेट सर्भिस एजेन्टहरूले राष्ट्रपतिलाई घेरा हालेर तत्कालै कार्यक्रम स्थलबाट बाहिर निकालेका थिए।
घटनास्थलमा खटिएका एक सुरक्षा अधिकारीका अनुसार उक्त क्षेत्रमा सातदेखि आठ राउण्ड गोली चलाइएको थियो। गोली चलेलगत्तै सुरक्षाकर्मीहरूले होटल र आसपासको क्षेत्रलाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएका थिए।
सुरुवातमा सन्दिग्ध बन्दुकधारी मारिएको वा हिरासतमा लिइएको भन्नेबारे विरोधाभासपूर्ण रिपोर्टहरू आएका थिए। यद्यपि, राष्ट्रपति ट्रम्पले केही समय अघि सामाजिक सञ्जालमार्फत बन्दुकधारी पक्राउ परेको जानकारी दिएका छन्। सुरक्षा निकायले घटनाको गम्भीरतालाई ध्यानमा राख्दै थप अनुसन्धान सुरु गरेको छ भने राष्ट्रपति अहिले पूर्ण सुरक्षित रहेको बताइएको छ।एजेन्सी

