संविधान संशोधन बहसपत्र तयार पार्न गठित कार्यदलको पहिलो बैठक आज बस्दै

प्रधानमन्त्री बालेन्द्र साहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल-२०८२’ को पहिलो बैठक आज दिउँसो ३ बजे सिंहदरबारमा बस्दैछ।
कार्यदलमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सदस्यका रूपमा रहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सांसद एवं अधिवक्ता मोहनलाल आचार्य, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट संविधानसभा सदस्य तथा डा. भीष्मनाथ अधिकारी, नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट संविधानसभा सदस्य एवं पूर्व कानुनमन्त्री देव प्रसाद गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट संसदीय दलका नेता ज्ञानेन्द्र शाही र राष्ट्रिय जनमोर्चाका तर्फबाट महासचिव मनोज भट्ट सदस्य छन्।
नेपाली कांग्रेस, श्रम संस्कृति पार्टी, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले कार्यदलमा पठाउने प्रतिनिधिबारे आन्तरिक छलफल गरिरहेका छन्। उनीहरूले आजै नाम टुंग्याउने सम्भावना छ।
यसबाहेक कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव पुष्कर सापकोटा र नेपाल कानुन आयोगकी सचिव इन्दिरा दाहाल पनि सदस्य रहेका छन्। कार्यदलको सदस्य-सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन तथा फैसला कार्यान्वयन महाशाखाका प्रमुख लिलाधर सुवेदी तोकिएका छन्।

