गाजामा पनि अवस्था अत्यन्तै नाजुक बनेको छ। धुलोको आँधीले सयौँ आश्रयस्थल भत्किएका छन् र हजारौँ मानिस खुला आकाशमुनि बस्न बाध्य भएका छन्। खाद्य आपूर्ति अवरुद्ध भएपछि धेरै परिवारले फोहोर जलाएर खाना पकाउनुपरेको विश्व खाद्य कार्यक्रमले चेतावनी दिएको छ। संयुक्त राष्ट्रसंघले गाजामा नियमित रूपमा खाना पकाउने ग्यास र अन्य आवश्यक सामग्री प्रवेश गर्न दिन अन्तर्राष्ट्रिय समुदायसँग तत्काल आग्रह गरेको छ।
लेबनानको दक्षिणी भागमा ठूलो सङ्ख्यामा मानिस विस्थापित भएका छन्। सरकारी तथ्याङ्कअनुसार ८ लाख ३० हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन् जसमध्ये करिब २ लाख ९० हजार बालबालिका छन्। संयुक्त राष्ट्रसंघका विभिन्न निकायहरूले प्रभावित क्षेत्रमा राहत कार्य तीव्र बनाएका छन्। विश्व खाद्य कार्यक्रम, शरणार्थी उच्चायुक्तको कार्यालय र युनिसेफले हालसम्म ८ लाखभन्दा बढी व्यक्तिलाई तातो खाना उपलब्ध गराएका छन्। यसबाहेक कम्बल, म्याट्रेस, सुत्ने म्याट र अन्य आश्रय सामग्री पनि वितरण गरिएको छ।
अमेरिकी सेनामा पनि उल्लेख्य क्षति भएको छ। मध्य कमाण्डका प्रवक्ता टिम हकिंसका अनुसार आक्रमण सुरु भएयता २०० भन्दा बढी अमेरिकी सैनिक घाइते भएका छन्। यीमध्ये १० जना गम्भीर घाइते छन् भने बाँकी उपचारपछि फिर्ता सक्रिय भएका छन्। पश्चिमी इराकमा अमेरिकी केसी-१३५ इन्धन आपूर्ति विमान दुर्घटनामा परेपछि अमेरिकी सेनाको मृत्यु सङ्ख्या १३ पुगेको छ।
यसैबीच इरानले प्रतिकारमा खाडी देशहरूमाथि मिसाइल र ड्रोन आक्रमण तीव्र पारेको छ। कतारको राजधानी दोहामा लक्षित मिसाइललाई सफलतापूर्वक रोकेको कतार रक्षा मन्त्रालयले जनाएको छ। दुबईमा पनि तीन पटक विस्फोट जस्ता आवाज सुनिएका थिए र केही समयका लागि विमानस्थलमा उडान स्थगित गर्नुपरेको थियो। इरानी आक्रमणले सैन्य लक्ष्यका साथै विमानस्थल, तेल सुविधा, बन्दरगाह र पर्यटकीय स्थलहरूलाई पनि निशाना बनाएको छ। यद्यपि अधिकांश हमला हवाई रक्षा प्रणालीले रोके पनि केही अवशेषबाट मानवीय तथा भौतिक क्षति भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो द्वन्द्व छिट्टै अन्त्य हुने दाबी गरेका छन्। ह्वाइट हाउसमा बोल्दै उनले भने, “म यसै साता सकिन्छ भन्ने ठान्दिनँ तर धेरै समय लाग्दैन, यो छिट्टै टुंगिन्छ।” उनले होर्मुज जलडमरूमध्यको सुरक्षा गर्न प्रस्तावित गठबन्धनमा सहभागी देशहरूको नाम चाँडै सार्वजनिक गर्ने बताएका छन्। तर धेरै सहयोगी राष्ट्रहरूले यसमा स्पष्ट समर्थन जनाएका छैनन्। युरोपेली सङ्घकी कूटनीतिज्ञ काया कालासले युरोपलाई लामो युद्धमा रुचि नभएको स्पष्ट पारिन्।
युक्रेनले खाडी सहयोग परिषद् राष्ट्रहरूको इरानी आक्रमणविरुद्ध समर्थन गरेको छ र तत्काल आक्रमण रोक्न जोड दिएको छ। यो द्वन्द्वले क्षेत्रीय सुरक्षा जोखिम उच्च बनाएको छ भने विश्वव्यापी तेल आपूर्ति र अर्थतन्त्रमा गम्भीर अस्थिरता निम्त्याएको छ। संयुक्त राष्ट्रसंघले तत्काल युद्धविराम र मानवीय सहायता वृद्धिका लागि अन्तर्राष्ट्रिय समुदायसँग अपील गरेको छ।एजेन्सी


