बालेन पहिला रास्वपा दलकाे नेता वने मात्रै प्रधानमन्त्री !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा दलको नेता चुन्ने तयारीमा लागेको छ । निर्वाचन आयोगले आज समानुपातिक तर्फको समेत अन्तिम परिणाम सर्वाजनिक गर्दै छ । त्यसपछि उसले निर्वाचनको सम्पूर्ण परिणाम बुझाउने छ । यता दलहरुले पनि सतहमा आएको परिणामको आधारमा दलको नेता चयनदेखि सम्भावित सरकारका लागि मन्त्रीहरुको गृहकार्यसमेत गर्नुपर्ने छ । रास्वपाका तर्फबाट प्रधानमन्त्री बालेन शाह अघि सारिएका थिए । तर बालेनलाई प्रधानमन्त्री बनाउन पहिला दलको नेता बनाउनु पर्ने छ । जसका छुट्टै प्रकृया छन् । दलको नेतामा उनी चुनिएपछि मात्रै प्रधानमन्त्रीको उम्मेदवार बन्ने बाटो खुल्ने छ । दलको नेता बनाएर रास्वपाले ठूलो दलको आधारमा संविधानको धारा ७६ को उपधारा १ अनुसार प्रधानमन्त्रीको दावी राष्ट्रपति समक्ष गर्न सक्दछ । त्यसपछि प्रधानमन्त्री र उनको दलले क्याविनेट मन्त्रीहरु छान्नेछन् । रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहबीच नयाँ सरकार निर्माणका विषयमा निरन्तर छलफल भइरहेको बताइन्। ‘सभापति र वरिष्ठ नेताबीच निरन्तर कुराकानी भइरहेको छ। सभापति बिरामी भएकाले भेटवार्ता हुन नसके पनि कुराकानी भइरहेको छ,’ रावल भन्छिन्, ‘सरकार निर्माणका विषयमा चाँडै उहाँहरुबीच भेटवार्ता हुन्छ। आजभोलि नै भेट्ने कुरा थियो। सभापति बिरामी हुँदा भेटवार्ता हुन नसकेको हो।’ बालेनका विश्वासपात्र तथा काठमाडौँ–३ बाट निर्वाचित सांसद राजुनाथ पाण्डेले रवि लामिछानेसँग छलफल गरेर भावी प्रधानमन्त्री बालेन शाहले मन्त्रीहरू छान्ने बताए। ‘संसदीय व्यवस्थामा प्रधानमन्त्री उम्मेदवारले नै मन्त्री छान्ने हो,’ बालेन निकट पाण्डे भन्छन्, ‘उहाँलाई कम्फर्टेबल तरिकाले काम गर्न सक्ने टिम निर्माण गर्नुहुन्छ। उहाँले विश्वास गरेका काबिल मान्छेलाई मन्त्री छनोट गर्नु हुन्छ।’ मन्त्री छनोट गर्ने कुरा लिने–दिने सम्झौताको विषय नहुने भन्दै रवि र बालेनबीच छलफल भएर टुंगिने उनको भनाइ छ। ‘सभापतिसँग छलफल भए पनि प्रधानमन्त्री बन्ने व्यक्तिलाई कम्फर्टेबल हुने गरी क्याबिनेट बन्ने हो। सभापतिसँग परामर्श गरेर मन्त्री छनोट गर्नुहुन्छ,’ उनी भन्छन्। रास्वपाका केन्द्रीय सदस्य असीम शाहले पनि बालेन शाहले आफ्नो क्याबिने आफैँ छनोट गर्ने सामाजिक सञ्जालमै उल्लेख गरेका थिए। ‘मन्त्री बन्न दौडधुप गर्न, भनसुन गर्न, मिडिया ट्रायल गर्न वा प्रचार गर्न आवश्यक छैन, केही नगरे पनि हुन्छ,’ रवि र बालेनको मिलनका सूत्रधार शाहले भनेका छन्, ‘जब बालेन शाह प्रधानमन्त्रीका रूपमा नियुक्त हुनुहुन्छ, उहाँले आफ्नो क्याबिनेटको टिम आफैँ छनोट गरेर बनाउनुहुनेछ। उहाँलाई सबै सांसदहरूको योग्यता र क्षमताबारे राम्रो जानकारी छ।’ रास्वपाको सरकार बन्ने निश्चित भएपछि बालेन अहिले समानुपातिकतर्फको क्लस्टर मिलाउन आन्तरिक छलफलमा छन्। रास्वपा केन्द्रीय सदस्य तथा काठमाडौँको मेयर हुँदाका प्रमुख स्वकीय सचिव भूपदेव शाहले आज बालेन शाहलाई भेटेका थिए। अछाम–२ मा भूपदेवको पराजयबारे बालेनले गहिरो चासो राखेका थिए। ‘देशभर यस्तो लहर आउँदा त्यहाँ त्यस्तो रहेछ है भन्नुभयो। व्यक्तिगत रुपमा क्याम्पेन पनि राम्रै थियो। मान्छेलाई कन्भर्ट गर्न यति गाह्रो हुन्छ भन्ने लागेको थिएन। त्यो भेगमा गाह्रै भयो भन्ने कुरा भयो।’ समानुपातिकतर्फको मत हेर्दा रास्वपाले ५८, कांग्रेसले १९, एमालेले १६, नेकपाले ९, श्रम संस्कृति र राप्रपाले चार–चार सिट पाउने सम्भावना देखिन्छ।समानुपातिकतर्फ दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम गरी ६ वटा क्लस्टरमा आयोगले तोकेको प्रतिशतअनुसार दलहरूले उमेदवारको सूची आयोगमा बुझाएका छन्। यसबाटै समानुपातिक सांसद छानिनेछन्। प्रत्यक्षमा रास्वपाले १२५ सिट जितेकाे छ । चैत ५ गतेसम्म आफ्नो संसदीय दलको नेता चुन्ने रास्वपाको तयारी छ।

