संसदमा पाको नेता प्रचण्ड मात्र , रुकुमपूर्वमा भारीमतले विजयी

रुकुमपूर्व । संसदमा जेन्जी युवाहरूको मागअनुसार नयाँ अनुहार आएपनि संसद्मा पाको नेताका रुपमा पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यमा प्रभावशाली मतसहित विजयी हुनुभएकाे छ ।
प्रचण्डले ११ हजार २ सय ८२ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएकाे निर्वाचन कार्यालयले जानकारी दिएकाे छ । योसँगै उहाँ लगातार पाँचौँ पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएकाे छ ।
निर्वाचन परिणामअनुसार उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार लीलामणि गौतमले ३ हजार ९ सय ३३ मत प्राप्त गरे। त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार कुसुम थापाले ३ हजार २ सय ८० मत ल्याइन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका लखनकुमार थापाले ७ सय ९१ मत पाए । यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीका सन्दीप पुनले २ सय १ मत प्राप्त गरेका छन् ।
रुकुम पूर्वमा प्रचण्डकाे यो विजयलाई वामपन्थी आन्दोलनप्रति जनताले व्यक्त गरेको विश्वास र समर्थनका रूपमा समेत विश्लेषण गरिएको छ । जनतासँगको निरन्तर सम्पर्क, राजनीतिक अनुभव र राष्ट्रिय राजनीतिमा खेलेको नेतृत्वकारी भूमिकाका कारण मतदाताले उहाँलाई पुनः विश्वासका साथ विजयी बनाएको प्रष्ट छ ।
पहिलो संविधानसभा निर्वाचनमा उहाँ काठमाडौं–१० र रोल्पा–२ बाट विजयी हुनुभएकाे थियाे । त्यसपछि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सिरहा क्षेत्र नम्बर ५ बाट निर्वाचित हुनुभएकाे थियाे ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित हुनुभएकाे थियाे । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट विजयी हुनुभएकाे थियाे ।

