रुकुममा एमालेका प्रभावशाली नेता–कार्यकर्ता नेकपा प्रवेश

रुकुम पश्चिम । जिल्लामा पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र बढ्दो असन्तुष्टि सतहमा आएको छ। नेतृत्वको कार्यशैली, स्पष्ट राजनीतिक एजेण्डाको अभाव र कार्यकर्तासँग पर्याप्त परामर्श नगरी लिइएका निर्णयप्रति असन्तोष चुलिँदै जाँदा विभिन्न तहका नेता–कार्यकर्ताहरूले पार्टी परित्याग गर्ने क्रम तीव्र बनेको छ।
यही परिवेशमा विभिन्न वडाबाट सक्रिय दर्जनौं नेता–कार्यकर्ताहरूले एमाले त्यागेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। नवप्रवेशीहरूले जनताको पक्षमा स्पष्ट राजनीतिक धार र वैचारिक प्रतिबद्धता देखेर नेकपा रोजेको बताएका छन्।
प्रवेश कार्यक्रममा बोल्दै आठबिसकोट–१ का पैले घर्तीले “जनताको पक्षमा दृढतापूर्वक उभिने, संगठनलाई वैचारिक रूपमा सुदृढ बनाउने र सही राजनीतिक दिशामा अघि बढ्ने उद्देश्यले” आफूले नेकपा रोजेको बताए। एमालेले स्पष्ट अस्तित्व र आधार नभएको ‘प्रलोपा’सँग सहकार्य गरेकोप्रति असन्तुष्टि जनाउँदै उनले त्यसै कारण पार्टी त्यागेको स्पष्ट पारे।
त्यस्तै, एमालेका स्थापित नेता तथा नेपाल शिक्षक संगठनका पूर्व केन्द्रीय उपाध्यक्ष एवं कर्णाली प्रदेश इन्चार्ज संगम केसीले पनि नेकपा प्रवेश गरेका छन्। शिक्षाक्षेत्रमा लामो अनुभव बोकेका केसीको आगमनले संगठनलाई वैचारिक र संगठनात्मक रूपमा थप मजबुत बनाउने विश्वास गरिएको छ। साथै, नेपाल राष्ट्रिय शिक्षक संगठन रुकुम पश्चिमका जिल्ला सचिव टिकाराम बिष्टले पनि नेकपा रोज्दै नयाँ राजनीतिक यात्रा सुरु गरेका छन्।
नवप्रवेशीहरूले कार्यकर्तासँग छलफल नगरी जनार्दन शर्मा नेतृत्व समूहलाई समर्थन गर्ने निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले जनमत, संगठन र विचारभन्दा बाहिर गएर गरिने समीकरणले दीर्घकालीन राजनीतिक स्थायित्व नदिने ठहर गरेका छन्।
नेकपाका जिल्ला नेतृत्वले भने नयाँ साथिहरूको आगमनलाई सकारात्मक राजनीतिक संकेतका रूपमा लिँदै यसले संगठनलाई अझ सुदृढ, गतिशील र जनमुखी बनाउने दाबी गरेको छ। जिल्लामा वैचारिक स्पष्टता र जनपक्षीय प्रतिबद्धतासहित अघि बढिरहेको नेकपामा विभिन्न क्षेत्रबाट बढ्दो आकर्षण देखिनु समग्र रूपमा पार्टीको बलियो उपस्थिति र विश्वासको प्रमाण भएको नेतृत्वको भनाइ छ।
रुकुम पश्चिममा देखिएको यो राजनीतिक पुनर्संरचना आगामी दिनमा अझ व्यापक रूप लिने संकेत देखिएको छ।

