रोल्पामा विप्लव माओवादीका नेता कार्यकर्ता लागे नेकपामा

काठमाडौं । रोल्पामा नेत्र विक्रम चन्दले नेतृत्व गरेकाे माओवादी छाेडेर माओवादीका ३५ कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । चुनावी घरदैलोमा रहेका नेकपा नेता तथा उम्मेदवार वर्षमान पुनले सुनछहरी गाउँपालिका– ६, फगाममा आयोजित कार्यक्रममा उनीहरूलाई पार्टी प्रवेश गराएका हुन् । विप्लव नेकपाबाट पदम पुनको नेतृत्वमा ३५ जना र मंगोल नेसनल अर्गनाइजेसनका जिल्ला सदस्य भुलबहादुर पुन पार्टी प्रवेश गरे । पुन ०७९ मा वडाध्यक्षका उम्मेदवार थिए । यसअघि विप्लव नेकपाका जिल्ला इन्चार्ज प्रवेश सुवेदी गत महिना नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका थिए । नेता पुनले नवप्रवेशीलाई पार्टीमा सम्मानजनक जिम्मेवारी दिने बताए । घरदैलो कार्यक्रममा जिल्लाको विकासका लागि थालिएका चालू योजना सम्पन्न गर्न सहजीकरणका लागि आफूलाई मत दिएर जिताउन उनले आग्रह गरेका छन्।

