काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा मतदातालाई आकर्षित गर्न राजनीतिक दलहरूले प्रचार अभियानलाई तीव्रता दिन थालेका छन् । निर्वाचन आयोगले निर्धारण गरेको ४–१८ फागुनको प्रचार अवधिलाई व्यापक उपयोग गर्ने रणनीति दल तथा उम्मेदवारले लिएका छन् । प्रचारका लागि तोकिएको १५ दिनमा जुलुस, आमसभा, कोणसभा, सञ्चारमाध्यमबाट प्रचारप्रसार गर्न आचारसंहिताले छुट दिएको छ । ६ माघमा उम्मेदवारी दर्ता गरेर घरदैलोमा लागेका उम्मेदवारहरूले ४ फागुन सुरु भएसँगै आमसभा गरिरहेका छन् । कांग्रेसले बुधबार जनकपुरमा ठूलो सभा गर्दै छ । कांग्रेसले १६ माघमै जनकपुरमा बृहत् आमसभाको तयारी गरेको थियो । तर आचारसंहिताका कारण सभा भएन । कांग्रेसले बुधबार जनकपुरमा आमसभा गरेर चुनावी घोषणापत्र जारी गर्ने तयारी छ । जनकपुरबाट चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेपछि जतिसक्दो बढी मतदातासमक्ष पुग्ने तयारीमा रहेको कांग्रेसका प्रवक्ता देवराज चालिसे बताए । ‘भौतिक र डिजिटल चुनावी अभियान चलाउँदै छौं,’ उनले भने, ‘बदलिएको कांग्रेस र नयाँ नेतृत्वको सन्देश एवं चुनावी प्रतिज्ञा सबैतिर पुर्‍याउने योजना छ,’ उनले भने । जनकपुरपछि अन्य प्रदेशमा पनि सभा गर्ने तयारी छ । कांग्रेस पार्टी सभापति गगन थापालाई भावी प्रधानमन्त्रीमा प्रस्ताव गरेर चुनावमा होमिएको छ । थापा सर्लाही–४ बाट उम्मेदवार छन् । पार्टीले थापालाई एक पटक सबै प्रदेशमा पुर्‍याएर मतदातालाई आकर्षित गर्ने रणनीति लिएको छ । चुनावको ‘कमान्ड’ भने पार्टी उपसभापति विश्वप्रकाश शर्माले गरेका छन् । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट नयाँ परीक्षा दिँदैछन्। काठमाडौँ–४ बाट चुनाव जितिरहेका उनी मधेस झरेपछि त्यहाँको जातीय र क्षेत्रीय राजनीति मिलाउन मेहनत गरिरहेका छन्। एमालेले अध्यक्ष केपी शर्मा ओली आफ्नै निर्वाचन क्षेत्र झापा–५ मा व्यस्त रहनेछन् । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रतिस्पर्धामा उत्रिएका कारण उनी आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित भएका हुन् । उनी अन्य क्षेत्रका अति आवश्यक कार्यक्रममा मात्र सहभागी हुने प्रचार विभाग संयोजक मीनबहादुर शाहीले जानकारी दिए । ‘समय अभावका कारण अध्यक्ष धेरै ठाउँ जान भ्याउनु हुन्न,’ उनले भने, ‘केही ठूला सहरमा हुने सभामा सहभागी हुनुहुनेछ ।’ ओली गढ जोगाउन निकै मेहनत गरिरहेका छन् भने उनको किल्ला भत्काउन बालेन्द्र शाह (बालेन) कम्मर कसेर लागेका छन्। काठमाडौँ महानगरको मेयर पदबाट राजीनामा दिएर बालेन रास्वपाको वरिष्ठ नेता बन्दै चुनावी महासंग्राममा होमिएका हुन्। युवामा बालेनको क्रेजले ओलीलाई यसपटक निकै दबाबमा पारेको देखिन्छ। उनी मत माग्न घरघर पुगेका छन्। एमालेका उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल, उपमहासचिव रघुवीर महासेठ, लेखराज भट्ट, सचिवहरू भानुभक्त ढकाल, राजन भट्टराई, महेश बस्नेत र शेरधन राई आफू उम्मेदवार भएकै क्षेत्रमा केन्द्रित छन् । चुनावी सभाका लागि अरू जिल्लामा जाने समय उनीहरूसँग एकदम कम छ । नेपाली कम्युनिस्ट पार्टीर्ले ठूला सभा नगर्ने भएको छ । संयोजक पुष्पकमल दाहाल आफ्नै निर्वाचन क्षेत्र रुकुम पूर्वमा घरदैलो गरिरहेका छन् । कुनै विशेष क्षेत्रको आवश्यकताअनुसार उनी जान सक्ने भए पनि हाल प्राथमिकतामा मतदाता भेटघाट नै रहेको पार्टीका प्रचार संयोजक अग्नि सापकोटाले बताए । ‘घरघर गएर मतदाताका कुरा सुन्ने, गुनासा लिने र आफ्नो कुरा भन्ने अभियानमा छौं,’ उनले भने, ‘सभाभन्दा घरदैलो अभियान नै प्रभावकारी हुने देखिन्छ ।’ नेकपाले संयोजक दाहालको नेतृत्वमा निर्वाचन परिचालन समिति बनाएको छ । समिति सदस्यमा उम्मेदवार नभएका नेता छन् । परिचालन समितिले विश्लेषण गरी कार्यक्रम बनाउने नेता सापकोटाले जानकारी दिए । ‘सबै निर्वाचन क्षेत्रमा उम्मेदवारका साथै अन्य नेता र कार्यकर्ता परिचालित छन्,’ उनले भने । पूर्वी रुकुम पुग्दा ठ्याक्कै उल्टो दृश्य देखिन्छ। जहाँ नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार छन्। उनी कुनै दबाबमा देखिँदैनन्। जबकि, कहिले सिरहा, काठमाडौँ, चितवन त कहिले गोरखाबाट चुनाव जितेका उनी १३ वर्षपछि कुनै ठूलो दलको वैशाखीबिना एक्लै चुनावमा होमिएका हुन्। रास्वपाले देशैभर बालेन्द्र शाहको ‘रोड शो’ गरिरहेको छ । काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर प्रतिनिधिसभा चुनावमा होमिएका शाहलाई रास्वपाले आगामी प्रधानमन्त्रीको प्रस्ताव गरेको छ । रास्वपाले प्रत्येक प्रदेशमा आमसभाको तयारी छ । रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलका अनुसार सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाहलगायत नेताले सबै प्रदेशका सभालाई सम्बोधन गर्ने तयारी छ । रास्वपाले ५ माघमा जनकपुरमा आमसभा गरेर चुनावी यात्रा सुरु गरेको थियो । तर आचारसंहिताका कारण अन्यत्र सभा भएन । रावलका अनुसार बुधबार धनगढी, बिहीबार सुर्खेत, शनिबार भैरहवा र आइतबार पोखरामा सभा हुँदै छ । बागमती, मधेश र कोशी प्रदेशमा गर्ने कार्यक्रमको मिति टुंगो लाग्न बाँकी छ । ‘निर्वाचनका लागि जनतामाझ गरिएको करारपत्र धनगढीको सभामा सार्वजनिक गर्नेछौं,’ उनले भनिन्, ‘जनकपुरमा गत महिना सभा गरिसकेकाले मधेशमा अर्को स्थानमा हुन सक्छ ।’ निर्वाचन आचारसंहिताभित्र रहेर चुनावी प्रचारप्रसारका सबै खाले कार्यक्रम गरिने रावलले बताइन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार सुदूरपश्चिमको महेन्द्रनगरमा चुनावी सभा गरेको छ । सभालाई अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गरेका छन् । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले सातै प्रदेशमा चुनावी सभा गर्ने जानकारी दिए । जसपा नेपालका नेता मनीष सुमनले चुनावी अभियान जोडतोडसाथ अघि बढेको जानकारी दिए । जनमत पार्टीका प्रवक्ता चन्दन सिंहले चुनावी अभियान सुरु भइसकेको बताए । अध्यक्ष सीके राउत अहिलेसम्म सप्तरी–२ मा बढी केन्द्रित भएको र अब अरू क्षेत्रका चुनावी सभामा जाने उनले जानकारी दिए । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मौन अवधि प्रारम्भ हुनुअघिसम्म दल तथा उम्मेदवारहरूले प्रचार गर्न पाउने बताए ।