काठमाडौं । नेकपा एमालेका अध्यक्ष जेनजी आन्दोलनको प्रमुख तारो बनाइएका नेता हुन् । उनी प्रधानमन्त्री भएकै बेला जेनजी युवाहरुले आन्दोलनका क्रममा ज्यान गुमाएका हुन् । त्यसैले पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह फागुन २१ को चुनावमा ओलीलाई हराउँनै पर्छ भनेर ओलीकै क्षेत्र झापा ५ नै पुगे । रास्वपाका वरिष्ठ नेता भएर झापा ५ पुगेका बालेनको घरदैलो र देखिएको माहोलसँगै ओली भने झस्किएका छन् । झापा ५ एमालेको सबैभन्दा सुरक्षित क्षेत्र हो । सो क्षेत्रमा अघिल्लो चुनावमा ओलीले २५ हजार भन्दा ठूलो मतान्तरले आफ्ना निकट्तम् प्रतिद्धन्दीलाई हराएका थिए । तर यसपालीको माहोल ओलीका विरुद्ध निक्कै तातिएपछि उनी हतास देखिन्छन् । ओलीकै क्षेत्र झापा गौरीजञ्जका एक स्थानीय भन्छन्, यस अघि ओलीले विगत २३ वर्ष यता यस्तो घरदैलो गरेकै थिएनन् । उनी दमक लगायत २,३ स्थानमा सभा गर्ने र सजिलै चुनाव जितेर जाने गर्दथे । तर यसपाली उनी देशका अन्य नेतालाई जिताउन गएका छैनन् । आफ्नै क्षेत्रमा घरदैलो गर्दा पनि उनलाई स्थानीय आलोचना गरिरहेका छन् ।’ एक साताको घरदैलोपछि बिहीबार काठमाडौं आएका ओली फागुन ३ गते पुनः निर्वाचन क्षेत्रतिरै लाग्ने कार्यक्रम छ। उनका चुनावी कमाण्डर देवेन्द्र दाहालका अनुसार दमक नगरपालिकाका १० वटै वडाका करिब ४० वटा टोलमा फागुन ४ गतेपछि ओलीले मतदाता भेट्नेछन्। अध्यक्ष ओलीको चुनावी प्रचारका लागि एमालेले यसअघि नै पूर्वमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य तथा दाहालको नेतृत्वमा ५०२ सदस्यीय निर्वाचन परिचालन समिति बनाएको थियो। नेताहरू दीपक कार्की र मेनुका काफ्ले सहसंयोजक छन्। परिचालन कमिटी मातहत ९ वटा उपसमितिसमेत गठन गरिएका छन्। परिचालन समितिमा निर्वाचन क्षेत्रमा घर भएका केन्द्रीय कमिटी सदस्य, केन्द्रीय आयोग तथा केन्द्रीय विभागका वर्तमान र निवर्तमान पदाधिकारीदेखि जनसंगठनका केन्द्रीय, प्रदेश र पालिका कमिटीका पदाधिकारी तथा सदस्यहरूसम्म छन्। यही कमिटीअन्तर्गत वडा र टोलस्तरमा समेत प्रचार समिति पनि गठन गरिएका छन्। लामो समय झापाको विभिन्न क्षेत्रबाट जित्दै आएका ओली नयाँ संविधान जारी भएयताका दुई निर्वाचनमा झापा ५ बाट लगातार जितेका छन्। तर यसपटक रास्वपाका वरिष्ठ नेतासमेत रहेका बालेन आफूलाई हराउने मुख्य उद्देश्यले झापा ५ झरेपछि भने ओली संयमित भएका देखिन्छन्। ओलीका चुनावी कमाण्डर दाहाल बालेनसँग कडा प्रतिस्पर्धा हुने देखिएपछि आफूहरूले थप मेहनत गरेको घुमाउरो ढंगले स्वीकार्छन्। बालेनको नाम नलिई उनले त्यहाँ सामाजिक सञ्जालमार्फत बढी भ्रम फैलाइएकाले त्यसलाई चिर्न यसपटक अध्यक्ष ओली स्वयं फिल्डमा बढी खटेका बताउँछन्। एमाले अध्यक्ष ओली र बालेन दुबै भावी प्रधानमन्त्रीका घोषित उम्मेदवार हुन्। त्यसकारण पनि झापा ५ को चुनावी प्रतिस्पर्धालाई एमाले र रास्वपाले प्रतिष्ठाको लडाइँको विषय बनाएका छन्। एमाले रास्वपा र बालेनलाई २४ भदौको विध्वंसको जिम्मेवार बनाई आफू चुनाव जित्न चाहन्छ भने रास्वपा र बालेनको हतियार ‘पुराना भर्सेस नयाँ’को भाष्य हो। उसले लामो समय देशको शासनसत्ता चलाएर केही नगरेको, बरु भ्रष्टाचार, बेथिति र कुशासन मौलाएको आरोप थोपरेर बाजी मार्न चाहन्छ। झापा ५ मा बालेन र ओलीकाे भिडन्तकाे बीचबाट आफु जित निकाल्ने नेकपाका युवा नेता रञ्जित तामाङ बताउँछन् । बालेन र ओली समाजका दुई अतिबादी साेच भएकाे र झापा ५ काे स्थानीय जनताकाे प‌हुचमा पुग्ने र विकासकाे सारथी हुनसक्ने भन्दै तामाङले अभियान तिब्र बनाएका छन् ।