काठमाडाैं । गएका दुई दिनमा १३ हजार सातसय रुपैयाँ घटेको सुनको मूल्य आज उच्च दरमा बढेको छ। सुनको मूल्य आज तोलामा १४ हजार रुपैयाँ बढेर तीनलाख पाँचहजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गएको बिहीबार र शुक्रबार सुनको भाउ तोलामा १३ हजार सातसय रुपैयाँ घटेको थियो। बिहीबार तोलामा नौहजार पाँचसय रुपैयाँ घटेको सुनको मूल्य शुक्रबार चार हजार दुईसय रुपैयाँ घटेर दुई लाख ९१ हजार रुपैयाँमा झरेको थियो। गएको मंगलबार र बुधबार दुई दिनमा सुनको मूल्य १८ हजार एकसय रुपैयाँ बढेको थियो। अघिल्लो साता तीन दिनमै सुनको भाउ तोलामा ५२ हजार सातसय रुपैयाँ घटेको थियो। यही माघ १५ गते तोलामा २० हजार पाँचसय रुपैयाँले बढेर सुनको भाउ तीन लाख ३९ हजार तीन सय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। आज चाँदीको मूल्य पनि बढेको छ। प्रतितोला तीनसय रुपैयाँ बढेर चाँदीको भाउ आज तोलाको पाँच हजार १० रुपैयाँ पुगेको छ। शुक्रबार चाँदीको भाउ चार हजार सातसय १० रुपैयाँ थियो। गत साताको आइतबार तोलामा १५ सय ६५ रुपैयाँ घटेर चाँदीको भाउ पाँच हजार पाँचसय रुपैयाँमा झरेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो। गत साताको बिहीबार चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।