गगन कांग्रेसको सभापति, यस्तो बन्यो पदाधिकारीको टिम

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। कांग्रेस विभाजन रोक्न तीन दिनदेखि गरिएका प्रयास असफल भएपछि विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा बुधबार नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ । शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमितिले नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई कारबाही गरेको केही घण्टामै विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको हो । यससँगै कांग्रेस विभाजित भएको छ । पार्टी उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्वाचित भएका छन् । विशेष महाधिवेशनले महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरेलाई निर्विरोध चयन गरेको छ । पौडेल १४ औं महाधिवेशनमा देउवाको प्यानलबाट महामन्त्रीमा पराजित भएका थिए । घिमिरे विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउने नेता हुन् । घिमिरे नेविसंघको अध्यक्ष हुँदा थापा महामन्त्री थिए । सहमहामन्त्रीमा डिला संग्रौला (महिला), प्रकाश रसाइली (दलित), बहादुरसिंह लामा (आदिवासी जनजाति), उदयशमशेर जबरा (खस आर्य), मुक्ताकुमारी यादव (मधेशी), फरमुल्लाह मन्सुर (मुस्लिम), योगेन्द्र चौधरी (थारू) र कर्णबहादुर बुढा (पिछडिएको क्षेत्र) चयन भएका छन् । विशेष महाधिवेशनले १२१ जनालाई केन्द्रीय सदस्य चयन गरेको छ । ६० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित आइतबारबाट सुरू भएको विशेष महाधिवेशनले थापालाई निर्विरोध सभापति चयन गर्दै बुधबार मध्यरातमा सकिएकाे हाे । निर्वाचन समितिका संयोजक सीताराम केसीले बुधबार राति साढे १२ बजेबाट विशेष महाधिवेशन हलमा निर्वाचित पदाधिकारीहरूको नाम सुनाउन सुरू गरेका थिए। कार्यक्रम २ बजेसम्म चल्यो। सभापति शेरबहादुर देउवासँग आइतबार बिहानैदेखि भएको वार्ता सहमतिमा पुग्न नसकेपछि भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले निर्वाचन प्रक्रिया अघि बढाउँदै नयाँ कार्यसमिति चयन गरेको हो। विशेष महाधिवेशन पक्षले देउवा पार्टीको सक्रिय भूमिकाबाट अलग हुनुपर्ने र कांग्रेसले गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरी उनकै नेतृत्वमा चुनावमा जानुपर्ने प्रस्ताव राखेको थियो। देउवा र उनी पक्षका नेताहरू यसमा सहमत भएनन्।

