देउवासँगको वार्ताबाट बाहिरिए गगन–विश्व, के भयो छलफलमा ?

काठमाडौं । विभाजनतिर उन्मुख कांग्रेसमा सहमति जुटाउन अहिले सभापति शेरबहादुर देउवाले गरेकाे वार्ता सकिएकाे छ । देउवाको निवास महाराजगञ्जमा उनी पक्षधर नेताहरूसँगकाे बैठक भने चलिरहेकाे छ। वार्ताबाट विशेष महाधिवेशन पक्षधर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा बाहिरिएका छन् । यस अगाडि सारिएकै विकल्पमा मध्यमार्गी सहमतिको लागि छलफल भएको र त्यसका लागि महामन्त्रीहरु आफ्नो समूहसँग छलफल गरेर फेरि बस्ने भनेर फेरि बस्ने भनेर निस्केका हुन्। दुई महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मासहित संस्थापन पक्षका नेताहरू बालकृष्ण खाड र रमेश लेखक वार्तामा सहभागी थिए। शेखर कोइरालाका तर्फबाट मिनेन्द्र रिजाल सहभागी छन्। सभापति शेरबहादुर देउवाले तत्काल नेतृत्व छान्नुपर्ने महाधिवेशन पक्षधरको प्रस्ताव मानेका छैनन्। देउवाले आगामी १५औँ महाधिवेशनबाट आफूले नेतृत्व छाड्ने बताएका छन्। आफ्नो सम्मानका लागि आगामी वैशाखसम्म कुरिदिन आग्रह गरेपछि महाधिवेशन पक्षधर नेताहरुले उनलाई कार्यकारी भूमिकामा निष्क्रिय बनाउने गरी अर्को विकल्प अघि सारेका छन्। यसअन्तर्गत पार्टीको सञ्चालन कार्यवाहक सभापति दुई महामन्त्री र नेता शेखर कोइराला सम्मिलित ‘हाई कमाण्ड’बाट पार्टी सञ्चालन गर्ने, संसदीय बोर्ड बोर्डमा सहमतिका आधारमा गठन गर्ने, सभापति शेरबहादुर देउवाको हस्ताक्षरबाट नभएर कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हस्ताक्षरबाट टिकट वितरण गर्ने लगायत विषयमा छलफल भएको छ। यी विषयमा सहमति जुटे त्यसलाई विशेष महाधिवेशनबाट पारित गरेर कार्यान्वयन गरिने नेताहरूको भनाइ छ। यसमा देउवा पक्षधरले स्वीकार गरिसकेका छैनन् ।

