नयाँ वर्ष २०२६ राजनीतिक स्थिरता र समाजवादतर्फको यात्राको वर्ष बनोस् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेपालका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अंग्रेजी नयाँ वर्ष २०२६ लाई राजनीतिक स्थिरता, शान्ति, समृद्धि र समाजवादतर्फको यात्रालाई अघि बढाउने निर्णायक वर्ष बनाउने संकल्प गर्न आह्वान गर्नु भएकाे छ ।
अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दै प्रचण्डले नयाँ वर्षले नयाँ आशा, ऊर्जा र संकल्प लिएर आउने विश्वास व्यक्त गर्नुभएकाे हाे ।
उहाँले विभिन्न कालखण्डका संघर्षका क्रममा हजारौँ सहिद, बेपत्ता योद्धा, घाइते तथा अपाङ्ग योद्धाहरूको बलिदान र योगदानबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्दै देशलाई अझ समावेशी, उन्नत र समृद्ध बनाउँदै समाजवादतर्फ अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनु भएकाे छ ।
शुभकामना सन्देशमा उहाँले विदा भएको सन् २०२५ मा जेन–जी युवापुस्ताको आन्दोलनले राजनीतिक परिवर्तनको नयाँ अध्यायको संकेत गरेको उल्लेख गर्नुभएकाे छ । उक्त आन्दोलनले पुराना संरचना, कार्यशैली र परिपाटीमा गम्भीर सुधारको आवश्यकता स्पष्ट पारेको र संविधान निर्माणका बेला तत्कालीन शक्ति–सन्तुलनका कारण फरक मतका रूपमा अघि सारिएका एजेन्डाहरूको औचित्य पुष्टि भएको उहाँकाे भनाइ छ ।
प्रचण्डले वर्तमान तरल राजनीतिक परिस्थितिमा अग्रगामी शक्तिहरूबीच आपसी समझदारी र राष्ट्रिय एकताको आवश्यकता झनै महत्वपूर्ण बनेको उल्लेख गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको बताउनु भएकाे छ ।
देश र जनताप्रतिको जिम्मेवारीप्रति सचेत रहँदै नेपाली कम्युनिस्ट पार्टीले आफ्ना सबल र दुर्बल पक्षहरूको समीक्षा गर्दै सच्चिएर अघि बढ्ने प्रतिबद्धतालाई व्यवहारमा उतारिरहेको उहाँले बताउनु भयाे । यथास्थितिमा सीमित रहने सोच र परिवर्तनको चाहनाबीचको संघर्ष अझै जारी रहेको उल्लेख गर्दै उहाँले जिम्मेवार ढंगले परिवर्तनको पक्षमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनु भयाे ।
विगतका अनुभवबाट महत्वपूर्ण पाठहरू सिकिएको उल्लेख गर्दै प्रचण्डले अब ती कमजोरीहरू नदोहोरिने गरी लोकतन्त्र, सुशासन र जनउत्तरदायी राज्य व्यवस्था सुदृढ बनाउनु साझा लक्ष्य हुनुपर्ने बताउनु भएकाे छ । विचार, एजेन्डा र निरन्तर सक्रिय नेतृत्वका आधारमा नेपाली कम्युनिस्ट पार्टीले मात्रै अग्रगामी परिवर्तनमा प्रभावकारी नेतृत्वदायी भूमिका खेल्न सक्ने उनको दृढ विश्वास लिनुभएकाे छ ।
उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ बनाउँदै सामाजिक न्याय, आर्थिक समृद्धि र युवा सशक्तीकरणलाई प्राथमिकतामा राखेर समृद्धिसहित समाजवादको यात्रा तय गर्न सकिने विश्वास व्यक्त गर्नुभएकाे छ ।
शुभकामना सन्देशको अन्त्यमा प्रचण्डले अंग्रेजी नयाँ वर्ष २०२६ ले सबैको जीवनमा खुसी, स्वास्थ्य र सफलता ल्याओस् भन्ने कामनासहित सबै राजनीतिक शक्ति, युवा, नागरिक समाज र आम नेपाली जनताले हातेमालो गर्दै नयाँ वर्षलाई आशा र परिवर्तनको वर्ष बनाउने संकल्प गर्न आह्वान गर्नुभएकाे छ ।


