काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचारविहीन, इतिहासविहीन तथा त्याग, तपस्या र बलिदान नभएकाहरूले सामाजिक सञ्जालमा देशै कब्जा गरिसक्यौं भनेजस्तो हल्ला चलाएको बताउनुभयो।

रुकुमबाट १५ दिन पैदल यात्रा गरी काठमाडौं आइपुगेका विद्यार्थी नेता केशव रावललाई धन्यवाद व्यक्त गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार आयोजित कार्यक्रममा प्रचण्डले यस्तो बताउनुभएको हो।

प्रचण्डले भन्नुभयो, ‘अहिले सोसल मिडिया हेर्‍यो भने विचारविहीन, इतिहासविहीन, त्याग तपस्या, बलिदान र निष्ठाविहीनहरूले देश पूरै कब्जा गरिसके भनेजस्तो होहल्ला छ। सहरबजारका केही मान्छे त्यस्तै हल्लामा रमाइरहेका छन्। दशकौं लडाइँ लडेर, आन्दोलन गरेर, त्याग–तपस्याका कीर्तिमान कायम गरेकाहरूलाई अहिले बदनाम गर्न खोजिँदैछ।’

प्रचण्डले सोसल मिडियामा होहल्ला गर्नेहरू नै मुक्तिदाता हुन् भनेजस्तो सहरबजारमा हल्ला चलाइएको पनि बताउनुभयो।

उनले लामो इतिहास भएका पार्टीहरू अब सिद्धिए भन्ने हल्ला जनताले नपत्याएको बताउँदै जनतामा नेपाली कम्युनिष्ट पार्टी र यसले अँगालेको विचारप्रति आकर्षण रहेको जिकिर गर्नुभयो।

प्रचण्डले अहिलेको समय सूचना प्रविधि (आईटी) र कृत्रिम बुद्धिमत्ता (एआई) को भए पनि यसको प्रयोगमा सचेत हुनुपर्ने बताउनुभयो।

प्रचण्डले भन्नुभयो, ‘हामीले विचार गर्नुपर्छ। यो समय आईटीको हो। एआईले मानव चेतनालाई नयाँ ठाउँमा पुर्‍याइरहेको छ। तर, त्यसको प्रभाव, प्रभुत्व र स्वामित्व प्रतिक्रियावादी शक्तिहरूको हातमा छ। उनीहरूले जस्तो चाह्यो, त्यस्तै प्रयोग गरिरहेका छन्। हामीलाई लाग्छ— मोबाइल आफैँ चलाइरहेको छु, समाचार आफैँ पोस्ट गरिरहेको छु। तर, त्यो एकाधिकार वैदेशिक साम्राज्यवाद र प्रतिक्रियावादकै हातमा छ। उनीहरूले आफू अनुकूल नै बनाएका छन्।’