एमालेको दुई जिब्रे कुरा : संसद पुनःस्थापना भन्दै चुनावका लागि उम्मेदवार छान्दै

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनालाई मुख्य मुद्दा बनाएको एमाले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवार छनोटको गृहकार्यमा लागेको छ । प्रदेश र जिल्ला कमिटीहरूले सिफारिस गरेका नामलाई केन्द्रीय कार्यालयमा ‘स्क्रिनिङ’ गरिरहेको एमालेले जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक उम्मेदवार छनोटको जिम्मा महासचिव शंकर पोखरेललाई दिएका छन् । प्रतिनिधिसभामा भाग लिने राजनीतिक दलहरूले १४ पुसभित्र समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरिसक्नुपर्नेछ । एमालेले प्रतिनिधिसभा पुनःस्थापनाको माग राखी सर्वोच्च अदालतमा निवेदन दिएको छ । यो रिट छिनोफानो कहिले हुने भन्ने निश्चित नभएकाले एमालेले चुनावी तयारी पनि सँगसँगै अघि सारेको छ । एमालेले चुनावलक्षित पार्टी संगठनहरू परिचालन गरेको छ । मंसिर अन्तिम साता भएको महाधिवेशनमा एमालेले प्रतिनिधिहरूलाई अरू सांगठनिक कार्यक्रमसँगै चुनावको तयारीमा लाग्न निर्देश गरेको थियो । सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा पुनःस्थापन गरिदिए राम्रो, त्यो नभए पनि चुनावमा जाने छँदै छ’ भन्दै एमालेले आफ्ना गतिविधि जारी राखेको छ । एमाले सचिव भानुभक्त ढकालले पार्टी लोकतन्त्रप्रति प्रतिबद्ध भएकाले निर्वाचन आयोगका कार्यक्रममा सहभागी भइरहेको बताए । चुनाव हुने वातावरण नभएकाले प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने एमालेको निष्कर्ष रहेको उनले बताए । ‘चुनाव हुने अवस्थामा एमाले भाग्दैन,’ उनले भने । महाधिवेशनमा तत्कालीन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा प्यानल बनाएर प्रतिस्पर्धा गरी जितेका पदाधिकारीसँग समानुपातिक उम्मेदवारका विषयमा संस्थापन पक्षले परामर्श गरेको छैन । उक्त पक्षले समानुपातिक सूची तयारीका विषयमा सल्लाह नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । उपमहासचिव योगेश भट्टराईले समानुपातिक उम्मेदवारका लागि जिल्लाबाट सिफारिस मागिएको सुनेको भए पनि त्यसबारे पार्टीमा छलफल नभएको बताए । पार्टीले समयमै चुनावमा जाने निर्णय नगर्दा सोचेजस्तो तयारी हुन नसकेको भट्टराईको भनाइ छ । २७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक प्रणालीबाट निर्वाचित हुने संवैधानिक व्यवस्था छ । समानुपातिक उम्मेदवारका लागि करिब पाँच सय जनाको सिफारिस आएको एमाले निर्वाचन विभाग प्रमुख नीरज आचार्यले जनकारी दिए । एमालेले पार्टी नीतिप्रति प्रतिबद्ध, पार्टीको काममा निरन्तरता, समाजमा स्थापित, लोकप्रिय, स्वच्छ छवि भएका व्यक्ति सिफारिस गर्न निर्देशन दिएको थियो । समानुपातिक निर्वाचनका लागि युवालाई पनि प्राथमिकतामा राख्ने एमालेको तयारी छ । केन्द्रीय पदाधिकारीको छिट्टै बैठक बसी समानुपातिक उम्मेदवारको टुंगो लगाउने तयारी छ । समानुपातिक उम्मेदवारको सूची तयार गरिसकेपछि एमालेले प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रका लागि पनि उम्मेदवार छान्ने प्रक्रिया थाल्नेछ । कांग्रेस, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत अन्य दलले चुनावमा जाने निर्णय गरिसकेकाले एमालेलाई औपचारिक निर्णय गर्न दबाब छ । निर्वाचनको माहोल बढ्दै जाँदा एमाले नेताहरूको अभिव्यक्ति पनि चुनावप्रति सकारात्मक हुँदै आएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव हुने अवस्थामा नभाग्ने बताइसकेका छन् । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दल कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालबीच मंगलबार शीतल निवासमा संवाद भएपछि चुनावप्रति देखिएको संशय कम हुँदै गएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको संयोजनमा भएको सरकार र प्रमुख तीन दलका शीर्ष नेताहरूको भेटवार्ता चुनावमा केन्द्रित भएको थियो । एमाले अध्यक्ष ओलीले सरकारले नै नेताको स्थान हद गरेको, पार्टीको कार्यक्रम गर्ने वातावरण नबनाएको भन्दै प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण गराएका थिए । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको वातावरण बनाउन शुक्रबार प्रमुख तीन दलका नेतालाई निवासमै गएर भेटेका छन् । उनले देउवालाई महाराजगन्ज, ओलीलाई गुन्डु र दाहाललाई हात्तीवनमा भेटेका हुन् । शीर्ष नेताहरूलाई भेटपछि खरेलले चुनावको वातावरण बन्दै गएको बताएका छन् । उनले मंगलबार २४ भदौमा आगजनी गरिएका कांग्रेस केन्द्रीय कार्यालय सानेपा, एमाले केन्द्रीय कार्यालय च्यासल र नेकपाको कार्यालय पेरिसडाँडाको अनुगमन गरेका थिए । त्यस अवसरमा उनले चुनावको वातावरण बनाउन सघाउन दलहरूलाई आग्रह गरेका थिए ।

