काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बिच शनिबार जिम्मेवारीको स्पष्ट बाँडफाँटसहित सहकार्य सहमति टुंगिने तयारी भएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा निरन्तर संवाद र रणनीतिक समन्वयले दुवै नेताको सहकार्यलाई अन्तिम चरणसम्म पुर्‍याएको हो । सोमबार करिब ६ घण्टा र बिहीबार करिब अढाई घण्टा जारी वार्तापछि लामिछाने र शाहले सहकार्यको ‘स्ट्राटेजिक’ खाका तय गर्न दोस्रो तहका नेतालाई जिम्मेवारी दिएका थिए । शनिबार उक्त मस्यौदालाई अन्तिम रूप दिएर दुवै नेताबाट अनुमोदन गराउने तयारी छ, जसले वैकल्पिक शक्तिहरूको एकीकरणलाई निर्णायक रूप दिने उनीहरूको अपेक्षा छ । रास्वपाबाट असीम शाह, शिशिर खनाल र आसिफ शाह तथा मेयर शाहका तर्फबाट सल्लाहकार कुमार बेन र अर्का एक सदस्य (सुदीप) रहेको मस्यौदा समितिले शुक्रबार प्रारम्भिक मस्यौदाको खाका तयार पारेको थियो । तर, लामिछाने र शाह दुवै व्यस्त भएकाले मस्यौदाले अन्तिम रूप पाउन नसकेको नेताहरूले बताएका छन् । मस्यौदामा नयाँ र वैकल्पिक शक्तिसम्मिलित पार्टीको सभापति लामिछाने नै रहने सहमति भएको छ । पार्टीमा त्यसपछिको वरीयतामा मेयर शाह रहने भनिएको छ । पार्टीका तर्फबाट आगामी प्रधानमन्त्रीको उम्मेदवार मेयर शाह हुने प्रस्ताव गरिएको छ । ‘सभापति र प्रधानमन्त्रीको कुरामा सहमति भइसकेको छ,’ मस्यौदा निर्माणका संलग्न एक सदस्यले भने, ‘बाँकी कुराहरूको सन्दर्भमा विकल्पहरू समावेश गरेका छौँ, टुंगिन बाँकी छ ।’ ती सदस्यका अनुसार नयाँ र वैकल्पिक शक्तिहरू समेटिएको एकीकृत पार्टीभित्र शक्तिसन्तुलन कस्तो हुने भन्ने टुंगिन बाँकी छ । ‘पार्टीको नाम, चुनाव चिह्न, झन्डासँगै पार्टीभित्रको शक्तिसन्तुलन कति प्रतिशत गर्ने, कसरी सबैलाई अटाउने भन्नेमा विभिन्न विकल्प राखेका छौँ,’ ती सदस्यले भने, ‘जस्तै : ५०–५० को कुरा छ । ६०–४० को कुरा छ । ७०–३० को कुरा पनि छ । यसलाई सबै अटाउने हिसाबमा बाँडफाँट गर्नुपर्छ भन्ने छ । तर, कसरी अटाउँछन् होला भन्नका लागि थप छलफलको आवश्यकता छ ।’  मस्यौदा निर्माणको चरणमा उठेको अर्काे विषय हो जेन–जीहरूको व्यवस्थापन । २३ र २४ भदौमा सुशासनको आकांक्षासहित आन्दोलन गरेर जेन–जी समूहहरूको सम्मानजनक व्यवस्थापन कसरी गर्ने भन्ने पनि टुंग्याउन बाँकी छ । ‘कोही जेन–जी अगुवाले चुनाव लड्ने भनेका छन् । कसैले पार्टीमा सक्रिय हुन्छु भनेका छन् । एकीकृत पार्टीमार्फत उहाँहरूको सम्मानजनक उपस्थिति राजनीतिमा कसरी गराउने भन्ने कुरा छ । मेयरसाप जेन–जीहरूलाई प्रायोरिटी दिनुपर्छ भन्नेमा हुनुहुन्छ । कसरी प्राथमिकतामा राख्ने भनेर विविध छलफल भएको छ । सबै समूहलाई समेट्ने गरी निष्कर्षमा पुग्नुपर्नेछ,’ मेयर शाहनिकट स्रोतले भन्यो । मस्यौदा समिति छलफलमै रहेको अर्काे विषय हो, एकीकृत पार्टीमा अन्य शक्तिहरूको व्यवस्थापन । ‘अन्य क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू, अन्य पार्टीका पनि राम्रा अनुहार, बलियो शक्ति भएपछि आउन सक्नेहरूको स्पेस पनि कसरी सिर्जना गर्ने भन्ने छलफलमै छ । कहीँ न कही स्पेस राख्नुपर्छ भनेर यो दुवै पक्षले महसुस गरेको कुरा हो,’ स्रोतले भन्यो । यसभित्र उज्यालो नेपाल पार्टी अगाडि बढाएका कुलमान घिसिङ, धरानका मेयर हर्क साम्पाङ, धनगढीका मेयर गोपाल हमालसम्म छन् । सहकार्यको मिलनविन्दु पहिल्याउन मस्यौदा समिति शुक्रबार दिनभर छलफलमा रहेको थियो । समितिका सदस्यहरूले आपसमा छलफल गर्ने, आ–आफ्नो नेतृत्वलाई सोध्ने, फेरि आपसमा छलफल गर्ने गरेका थिए । ‘हामीले आपसमा पनि छलफल गर्‍यौँ । आफ्नो नेतृत्वलाई पनि बिचबिचमा जानकारी गरायौँ । नेतृत्वबाट निर्देशन पनि लियौँ । छलफल दिनभर नै चल्यो । शनिबार टुंग्याउने कोसिसमा छौँ,’ स्रोतले भन्यो । दुवै नेताको सचिवालयका अनुसार मेयर शाह काठमाडौं महानगरपालिकाको नगरसभामा व्यस्त थिए भने सभापति लामिछाने पार्टीको आन्तरिक छलफल र आफूविरुद्धका मुद्दाको प्रक्रियाको व्यवस्थापनमा व्यस्त थिए । शनिबार कति बजे बस्ने भन्ने तय भइसकेको छैन । मस्यौदा समितिका सदस्य असीम शाहले दुवै पक्षबिच सकारात्मक कुराकानी भइरहेको बताए । ‘छलफल जारी छ र सकारात्मक छ । भोलि टुंगो लाग्छ । तीनजना नै राखेर अनुमोदन हुन सक्छ,’ उनले भने । रास्वपा उपसभापति स्वर्णिम वाग्लेले बृहत् वैकल्पिक एकताको छलफल सकारात्मक रहेको बताए । ‘सकारात्मक छ, सुखद समाचार आउनेमा आशावादी छौँ । सबै कोणबाट असन्तुष्टि सकेसम्म निमिट्यान्नै पार्नुपर्‍यो । विनविन सबैले जित्ने नतिजा के हुन सक्छ भनेर समय लागेको मात्र हो,’ उनले भने । नेता हरि ढकालले सभापति लामिछाने नै हुने र घण्टी चिह्नबाट चुनाव जितेको व्यक्ति प्रधानमन्त्री हुने बताए ।