स्रोतहरूका अनुसार बालेनले निर्वाचन आयोगमा दर्ता गरिसकेको ‘देश विकास पार्टी’ मार्फत आफ्नो राष्ट्रिय राजनीतिक यात्रा अघि बढाउने तयारी गरेका छन्। उनले आफ्नो चर्चित चुनाव चिन्ह ‘लौरो’ नै प्रयोग गर्ने गरी टिम निर्माण भइरहेको जानकारी सहभागीहरूलाई दिएका थिए। बुधबारको छलफलमा प्रत्यक्ष निर्वाचन लड्न सक्ने सम्भावित उम्मेदवारहरूसँग पनि छलफल भएको थियो।
यो छलफलले आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअघि वैकल्पिक शक्तिहरूको ध्रुवीकरणलाई तीव्र बनाएको छ। अलगअलग लड्दा भोट बाँडिने र पुराना दलहरूलाई फाइदा पुग्ने जोखिम देखेर रवि, बालेन र कुलमानबीच सहकार्यको प्रयास बढेको छ। तर, नेतृत्व, प्रधानमन्त्री उम्मेदवारी र पार्टी एकता वा मोर्चाबन्दीको मोडालिटीमा अझै ठोस सहमति जुट्न बाँकी छ।
बालेनको यो सक्रियताले जेनजी पुस्ताको आकांक्षा बोकेको नयाँ राजनीतिक शक्तिको उदयको संकेत गरेको छ। यदि यो प्रयास सफल भयो भने निर्वाचनमा ठूलो उलटपुलट हुन सक्छ। वार्ता र संवाद जारी रहने संकेतहरू छन्, अबको केही दिनभित्रै नयाँ समीकरणको खाका सार्वजनिक हुन सक्ने अनुमान गरिएको छ।


