दलीय राजनीतिमा प्रवेश गर्दै बालेन, गणतन्त्र, संघीयता, कर्मनिरपेक्षता र समावेशीको पक्षमा खुले

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आसन्न प्रतिनिधिसभा निर्वाचनमार्फत दलीय राजनीतिमा सक्रीय हुने भएका छन् । वैकल्पिक शक्ति निर्माण गर्न उनले राजनीतिमा सक्रिय नेता, अभियन्ता, उद्यमी–व्यवसायी, सञ्चारकर्मी र जेन–जी अगुवासँग भेटघाट तीव्र बनाएका छन् । भेटघाटमा सहभागी सबैलाई उनले आफू संसदीय राजनीतिमा होमिएको स्पष्ट सन्देश दिएका छन् । बालेन देश विकास पार्टीमार्फत निर्वाचनमा भाग लिने तयारीमा छन् । निर्वाचन आयोगमा दर्ता भइसकेको यस पार्टीको चुनाव चिह्न लौरो छ । पहिले यो पार्टी अनन्तराज घिमिरेका नाममा थियो । तर पछिल्लो समय पार्टीको नेतृत्वमा सन्ध्या खनाललाई ल्याइएको छ । ‘विकल्पका रूपमा विभिन्न पार्टी दर्ता भएका थिए, तीमध्ये लौरो चुनाव चिह्नसमेत भएकाले यसलाई प्राथमिकता दिइएको हो,’ बालेनको सचिवालयका एक सदस्यले भने, ‘त्यहीअनुसार अहिले गृहकार्य भइरहेको छ ।’ देश विकास पार्टीबाट समानुपातिक उम्मेदवारको सूची बनाउन बालेनले गृहकार्य गरिरहेको जानकारहरू बताउँछन् । मेयरमा उम्मेदवारी दिनुअघिबाटै साथ दिँदै आएका साथी कुमार बेनको ललितपुरको ज्वागलस्थित घरमा बालेनले बुधबार अपराह्नदेखि बिहीबार अबेरसम्मै भेटघाट गरेका थिए । बालेनले बुधबार चिकित्सक भगवान कोइराला, कांग्रेस नेता चन्द्र भण्डारी, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीदेखि राप्रपा नेता ज्ञानेन्द्र शाहीसम्मलाई भेटेका थिए । बालेनले पूर्वसचिव भीम उपाध्याय, विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष मिलन पाण्डे, विवेकशीलबाट बागमती प्रदेशसभामा निर्वाचित पूर्वसांसद रमेश पौड्याल, रास्वपासँग एकीकरणमा नगएका विवेकशीलको युवा संगठनका पूर्वअध्यक्ष सरोज गौतम, अभियन्ता सागर ढकाल, सञ्चार उद्यमी सम्भव सिरोहिया, व्यवसायी सचिन ढकाल, जेन–जी अभियन्ताद्वय रक्षा बम तथा केपी खनाल, कलाकार निश्चल बस्नेत, सञ्चारकर्मी सुरजसिंह ठकुरी र ऋषि धमलालगायतसँग बेग्लाबेग्लै भेट गरेका थिए । जनमतका अध्यक्ष राउतले बालेनले एउटै पार्टी बनाएर अघि बढ्ने प्रस्ताव बालेनबाट आएको बताए । ‘बालेनजीको प्रस्तावमा हामी विचार गर्छौं,’ राउतले भने, ‘अरू क्षेत्रभन्दा मधेशको राजनीति अलि फरक छ । यो कसलाई प्रधानमन्त्री बनाउने भन्ने मात्र कुरा होइन, अरू धेरै सवाल छन् ।’ पूर्वसचिव उपाध्यायले बालेन संसदीय चुनावमा जाने संकेत पाएको बताए । ‘मैले एक्लै उहाँलाई भेटें,’ उनले भने, ‘भेटघाटबाट उहाँहरू चुनावमा जाने संकेत देखेको छु, त्यसका लागि सम्भावित मानिसलाई उहाँहरूले भेट्नुभएको बुझेको छु ।’ बालेन काठमाडौंको मेयरमा उठ्दै गर्दासमेत आफूले सहयोग गरेको उल्लेख गर्दै वैकल्पिक शक्तिलाई एकठाउँमा ल्याउन पनि सहयोग हुने जानकारी गराएको उपाध्यायले बताए । ‘मचाहिँ सक्रिय राजनीतिमा लाग्दिनँ, बाहिर बसेर सहयोग गर्छु भनें,’ उनले सुनाए, ‘परिवर्तनका लागि जे सहयोग गर्नुपर्ने हो, गर्न म तयार छु ।’ नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले बालेनसँग सकारात्मक छलफल भएको बताए । ‘सबै वैकल्पिक, परिवर्तनकारी शक्तिहरू अग्रगामी दिशामा अघि बढ्न एक हुनुपर्यो भन्नेमै हाम्रो छलफल केन्द्रित रह्यो, प्रारम्भिक छलफल धेरै राम्रो भयो,’ उनले भने, ‘एकता वा गठबन्धन भन्नेबारेमा अहिले नै ठोस छलफल भएको छैन ।’ विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष पाण्डेका अनुसार छुट्टै पार्टी बनाएर बहुमत ल्याउने गरी चुनावमा अघि बढ्ने स्पष्ट संकेत बालेनले गरेका थिए । ‘जेन–जी साथीहरूलगायत सबै मिलेर ठूलो वैकल्पिक शक्ति बनाउने विषयमा बालेनलाई समर्थन गर्न म तयार रहेको बताइसकेको छु,’ उनले भने । बालेनले भेटघाट तीव्र बनाएपछि रास्वपा सभापति रवि लामिछानेसमेत दिउँसो १२ बजेतिर उनलाई भेट्न ज्वागल पुगेका थिए । लामिछाने र बालेनबीच ३ः१० बजेसम्म कुराकानी भएको थियो । उनीहरूबीच यसअघि गत सोमबार रास्वपा पूर्वसांसद असिम शाहको कमलपोखरीस्थित कार्यालयमा छलफल भएको थियो । तर उक्त भेटमा लामिछानेबाट स्पष्ट प्रस्ताव नआएको भन्दै बालेनले पार्टीलाई संस्थागत गर्ने छलफललाई तीव्रता दिएका थिए । यही क्रममा उनलाई भेट्न ज्वागल पुगेका लामिछानेले कुनै ठोस प्रतिक्रिया दिएनन् । उनीहरूबीच थप छलफल गर्ने सहमति भएको निकटस्थहरूले बताएका छन् । सहयोगीका अनुसार बालेनलाई उज्यालो नेपाल पार्टीका कुलमान घिसिङको पनि साथ छ । बालेनले घिसिङसँग बिहीबार बिहान ११ बजे भेटघाट गरेका थिए । उज्यालो नेपालका केन्द्रीय सदस्य अभिषेकराज सिंहले घिसिङ र बालेनबीच छलफल सकारात्मक भएको बताए । ‘रवि, बालेन र कुलमान तीनै जनाका कुरा सकारात्मक छन् । समानुपातिक सूचीसँगै एकठाउँ उभिएर जाने मोडालिटीको बारेमा छलफल भइरहेको छ,’ सिंहले भने । बुधबार दिनभर भएको भेटघाटका क्रममा बालेनले रास्वपा सभापति लामिछानेसँग सोमबार बेलुकी ७ देखि राति १ बजेसम्म चलेको बैठकका कुराकानीबारे समेत ‘ब्रिफिङ’ गरेका थिए । ‘रविजीसँग एक किसिमको छलफल भएको थियो, तर ठोस प्रस्ताव आएन,’ बालेनको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी अर्का एक नेताले भने, ‘अहिलेलाई बेग्लै तरिकाले अघि बढ्ने गरी कुराकानी भइरहेको छ ।’ बालेनले कांग्रेस पूर्वसांसद सुनील शर्मासँग पनि बिहीबार भेटघाट गरेका छन् । भेटपछि शर्माले भने, ‘मैले संसद् पुनःस्थापना गरेर जेन–जीका सम्भव हुने माग संविधान संशोधनमार्फत चाँडो पूरा गरौं भन्ने प्रस्ताव राखें तर उहाँ छिटो चुनाव गराउने पक्षमा हुनुहुन्थ्यो । संसद् पुनःस्थापनामा सकारात्मक पाइनँ ।’ नयाँ शक्ति निर्माण गरेर अघि बढौं भन्ने बालेनको प्रस्तावमा आफूले ‘म कांग्रेसबाटै अगाडि बढ्छु र आगामी १० वर्षमा नेतृत्व लिन्छु, तपाईं नयाँ पार्टीको नेतृत्व गरेर आउनुस्, सहकार्य गरौंला’ भन्ने जवाफ दिएको उनले बताए । नेता अमरेश सिंहले पनि करिब १५ मिनेट बालेनसँग छुट्टै भेट गरेका थिए । जेन–जीको चाहनालाई समेत समर्थन गरेर परिवर्तनलाई स्थापित गर्न मेयर बालेनसँग छलफल भएको सिंहले जानकारी दिए । उनले पत्रकारहरूसँग भने, ‘वार्ता खुला छ, सकारात्मक छ । यसले चाँडै परिणाम दिन्छ भन्ने लाग्छ ।’ सिंहपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई ज्वागल पुगेका थिए । २०७२ सालमा संविधान जारी भएपछि माओवादी छाडेर वैकल्पिक शक्ति निर्माणमा होमिएका उनलाई बालेनले ‘आफू सक्रिय राजनीतिमा आउने भए तपाईंको पूर्ण सहयोग हुन्छ कि हुँदैन ? म अब कसरी अघि बढ्नुपर्ला ?’ भन्दै सुझाव मागेका थिए । बालेनले आगामी संसद्मा रहने गरी तयारी गर्नसमेत भट्टराईलाई आग्रह गरेका थिए । भट्टराई–बालेन भेटमा सहभागी मानुषी यमी भट्टराईले वैकल्पिक शक्ति निर्माणका लागि सकारात्मक कुराकानी भएको बताइन् । ‘उहाँले आफू राजनीतिमा आउन तयार भएको बताउँदै अभिभावकका रूपमा सुझाव र सहयोग के दिनुहुन्छ भनेर जिज्ञासा राख्नुभयो,’ उनले भनिन्, ‘जवाफमा पूर्वप्रधानमन्त्री भट्टराईले सुशासन, अग्रगामी राजनीतिक निकास, आर्थिक विकासका पक्षमा हुनेलाई मेरो साथ रहन्छ, मैले विगतदेखि नै वैकल्पिक राजनीतिको वकालत गरेको हुनाले सहयोग गर्न तयार छु भन्नुभयो ।’ बाबुरामपछि बालेनले जेन–जी अभियन्ताको समूहसँग भेट गरेका थिए । त्यसमा रक्षा बमसहित युजनराज भण्डारी, प्रदीप ज्ञवाली, केपी खनाल, पुरुषोत्तम यादव, सुधन गुरुङ, ओजश्वी थापा, रोहन दंगाल, कलाकार निश्चल बस्नेतलगायत थिए । बमका अनुसार भेटघाटमा बालेनले जेन–जी अगुवा ‘स्टेकहोल्डर’ रहेको उल्लेख गर्दै सबै साथमा रहेर नयाँ पार्टीमार्फत अघि बढ्नुपर्ने बताएका थिए । ‘उहाँले २५ वर्ष उमेर पुगेकाहरू केन्द्रमा चुनाव लडौं, अरूले सहयोग गरेर पछि प्रदेश र स्थानीय चुनावमा लड्न सकिन्छ भन्नुभयो,’ बमले कान्तिपुरलाई भनिन्, ‘हामीले जेन–जी आन्दोलनपछि वैकल्पिक शक्तिहरू जहाँ एकठाउँमा आउँछन्, त्यहीं उभिन्छौं भनेका थियौं, त्यहीअनुसार अघि बढ्ने कुरा भएको छ ।’ बालेनले अरू वैकल्पिक शक्तिलाई समेत एकठाउँमा ल्याउने गृहकार्य गरिरहेको जानकारी दिएका थिए । बालेनले बिहीबार अभियन्ता खगेन्द्र सुनारसँग पनि भेट गरेका थिए । उनले मुलुकलाई संकटबाट बाहिर ल्याउने विषयमा चासो देखाएको सुनारले सुनाए । ‘देशलाई संकटबाट बाहिर ल्याउने सवालमा हामी कतापट्टि उभिँदा देशलाई न्याय हुन्छ भन्नेबारे छलफल भएको छ,’ हाम्रो पार्टी नेपालका अध्यक्षसमेत रहेका उनले भने, ‘आममानिसलाई बालेन ५ वर्षका लागि स्थायी सरकारमा आइदिए हुन्थ्यो भन्नेछ, त्यसैले सबै आस बोकेको टिम एउटा कित्तामा रहनुपर्छ भनेको छु ।’ दिनभरको भेटघाटपछि महानगरका सल्लाहकारसमेत रहेका कुमार बेनसहितसँग बेग्लै छलफल गरेर बालेन बेलुकी करिब सवा ८ बजे ज्वागलबाट निस्किएका थिए । कान्तिपुरबाट

