२०८२ पौष ४ शुक्रबार Friday, 19 December, 2025 ओलीलाई पक्राउको त्रासः एमाले नेतृत्वमाथि छोएको दिन देश ठप्प हुन्छ, सरकार ढल्छ बिहीबार पौष ३, २०८२19:50:00 24 Shares काठमाडौं । नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वमाथि छोएको दिन सरकार ढल्ने चेतावनी दिएका छन्। भृकुटीमण्डपमा आयोजित सपथग्रहणपछि सम्बोधन गर्दै अध्यक्ष ओलीले त्यसका लागि देशभरि तयारी थाल्नुपर्ने बताए। ‘एमालेमाथि भौतिक हमला गर्ने, जाली मुद्दा लगाउने, पञ्चायतकालीन मुद्दा उठाउनेजस्ता मिडिया ट्रायल भइरहेका छन्। त्यो यथार्थ हल्ला पनि हुनसक्छ। एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ। यो सरकार ढल्नुपर्छ। ढालिन्छ यो सरकार। त्यसका लागि देशभरि तयारी गर्नुपर्छ,’ उनले भने। अध्यक्ष ओलीले संसारमा केही महँग छ भने त्यो एमालेलाई छुनु भन्ने पार्नुपर्ने नेता-कार्यकर्तालाई निर्देशन दिए। उनले यो सरकारले निर्वाचन होइन, षड्यन्त्रको तयारी गरिरहेको दाबी गरे। त्यसका लागि एक हप्ताभित्र टोलटोलमा सुरक्षा टोली बनाउन उनले निर्देशन दिए। उनले केही योगदान नै नभएका तत्त्वहरू सरकारमा आएर एमाले जस्तो पार्टीलाई होच्याउने काम गरिरहेको आरोप लगाए। उनले संविधान संशोध गर्नलाई सरकार बनाएको हो भनेर प्रश्नसमेत गरे। ‘यो सरकारले सके निर्वाचन गराउनुपर्छ। सक्दैन भने बाटो लागे हुन्छ,’ उनले भने। अध्यक्ष ओलीले देश गम्भीर संकटमा रहेकाले राजनीतिक दलहरूलाई एक हुन आह्वान गरे। उनले संविधान खारेज गर्ने विषय उठिरहेकाले राजनीतिक दलहरू गम्भीर बन्नुपर्ने बताए। ‘राजनीतिक दलहरू गम्भीर हुनुपर्छ। संविधान विरोधी तत्त्वहरू छन्। उनीहरूले संविधान नै खारेज गर्ने कुरा गर्दैछन्। त्यसको पक्षमा उभिनका लागि पनि राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्छ,’ उनले भने। उनले संविधान संशोधन आवश्यक रहेको र त्यो गरिने पनि बताए। तर, संविधान खारेज सम्भव नरहेको उनको भनाइ छ।