काशीनाथ अधिकारीले पनि त्यागे एमालेको सक्रिय राजनीति

काठमाडौं । नेकपा एमालेका नेता काशीनाथ अधिकारीले सक्रिय राजनीतिबाट विश्राम लिएका छन् । ५० वर्ष लामो राजनीतिक जिवन र ४४ वर्षभन्दा लामो एमालेमा पूर्णकालिन राजनीतिक जिवन व्यतित गरेका उनले ११औं महाधिवेशन सकिएसँगै राजनीतिक जिवनबाटै विश्राम लिएको घोषणा गरेका छन् । आफ्नो फेसबुकमा लामो स्टाटस लेख्दै उनले पार्टीका लागि कहिल्यै पनि पदको पछि नलागिकन इमानका साथ तन मन र धनसमेत दिएर काम गरेको बताएका छन् । ६६ वर्षको उमेरमा उनले पार्टीका कुनै पनि कमिटी तथा निकायमा नरहने घोषणा गर्दै साधारण सदस्यका रूपमा पार्टी, समाज र देशका हितमा काम गरिरहने बताए । आफ्नो कार्यशैलीबारे उल्लेख गर्दै अधिकारीले आफू ‘ल्यांगल्यांगे’ कार्यशैलीको विरोधी रहेको र जसरी पनि जिम्मेवारी पूरा गर्ने बानी रहेको बताएका छन्। नेकपा एमालेमा लगातार ३३ वर्ष केन्द्रीय सदस्य भए पनि आफू कहिल्यै नेता बन्ने होडमा नलागेको उल्लेख गर्दै उनले आफू कार्यकर्ताको पात्रता भएको राजनीतिकर्मी भएको बताएका छन्। ‘पद र अवसरका लागि कहिल्यै मरिहत्ते गरिनँ,’ तनहुँमा जन्मिएका अधिकारीले भनेका छन्, ‘सपना असल कम्युनिस्ट बन्ने थियो, तर सबै मानक पूरा गर्न सकिनँ।’ पार्टीको ११औँ महाधिवेशनमा समेत उनले कुनै पनि पदमा उम्मेदवारी दिएका थिएनन्। यद्यपि, उनी पार्टीभित्र प्रभावशाली नेताका रूपमा चिनिन्थे। अघिल्लो कमिटीमा उनी सङ्गठन विभाग प्रमुखको जिम्मेवारीमा रहेका थिए । उनले लेखेका छन्, सक्रिय राजनीतिबाट विदा पचास बर्षको राजनीतिक जीवनमा ४४ बर्ष पूर्णकालिन भएर काम गरें । जति दिन काम गरें पुरा मनले गरें । इमान, निष्ठा र समर्पणकासाथ गरें । तन, मन र धन समेत दिएर निसर्त तथा निस्वार्थरुपमा गरें । म ल्यांगल्यांगे कार्यशैलीको विरोधी हुं, जसरी पनि जिम्मा पुरागर्ने मेरो कार्यशैली रह्यो । नेकपा(एमाले)मा लगातार ३३ बर्ष केन्द्रीय सदस्य भएपनि म कहिल्यै नेता थिइन । म कार्यकर्ताको पात्रता भएको राजनीतिकर्मी थिएं । समाज बदल्न हिंडेको वास्तबिक झोले कार्यकर्ता थिएं । मैले कहिल्यै पनि पद र अवसरका लागि मरिहत्ते गरिन । सपना असल कम्युनिष्ट बन्ने थियो तर सबै मानकहरु पुरागर्न सकिन । अब पार्टीका कुनै पनि कमिटी र निकायमा रहने छैन । साधरण सदस्य रहेर पार्टी, समाज, र देशका हितमा यथासम्भब काम गरिरहनेछु । गुनासो गरेर होइन, नेतृत्वप्रति आभार र धन्यवाद ब्यक्तगरेर , खुसीले, ६६ बर्षको उमेरमा सक्रिय राजनीतिबाट विदाभएकोछु । लामो राजनीतिक जीवनमा म बाट भएका भूलचुकहरू प्रति सम्बन्धित सबैसंग क्षमा माग्दछु ।

