एमालेको महाधिवेशन : ओलीलाई आफैंलाई भोट हाल्न १ घण्टा लाग्यो

काठमाडौं । विभिन्न शंका र ढिलाईका बाबजुत नेकपा एमालेको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ । शुरुमा अध्यक्षका प्रत्यासी केपी ओली र ईश्वर पोखरेलले मतदान गरेका छन् । बिहान साढे १० बजेसम्म १६० जना प्रतिनिधिले मतदान चलेकाे हाे। महाधिवेशनमा कूल २ हजार २६३ जना प्रतिनिधिले भाग लिँदैछन् । आयोगका अनुसार दुवैलाई मतदान गर्न करिब १ घण्टा लागेको थियो । जारी महाधिवेशनबाट एक अध्यक्ष, ५ जना उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र ९ जना सचिव साथै ३०१ जना केन्द्रीय सदस्य चयन हुनेछन्। ५ जना उपाध्यक्षका लागि अरूण नेपाल, गुरूप्रसाद बराल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, परशुराम मेघी गुरूङ, पृथ्वीसुब्बा गुरूङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा बादल, डा. विन्दा पाण्डे र विष्णु पौडेल उम्मेदवार छन्। महासचिवमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डे उम्मेदवार छन्। त्यस्तै ३ जना उपमहासचिवका लागि आनन्द प्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट, विष्णु रिमाल र वैजनाथ चौधरी उम्मेदवार छन्। ९ जना सचिव पदका लागि अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, खगरादज अधिकारी, गोकुलप्रसाद बास्कोटा, छविलाल विश्वकर्मा, ठाकुर गैरे, पद्माकुमारी अर्याल, पुरूषोत्तम पौडेल, पेम्बा लामा, भानुभक्त ढकाल, महेश बस्नेत,. यामलाल कँडेल, रचना खड्का, राजन भट्टराई, लालबाबु पण्डित, विनोद ढकाल, शेरधन राई र हिक्मतकुमार कार्की छन्। नेतृत्व चयनका लागि एमाले प्रतिनिधिहरू पनि विभाजित भएका छन्। केही प्रतिनिधिहरु प्यानलमै भोट हाल्ने पक्षमा छन् भने अधिकांश प्रतिनिधिहरूको मनस्थिति अलि फरक देखिन्छ । उनीहरु एमालेको एकता कायम गर्नको लागि मिश्रित नेतृत्व आउनुपर्ने पक्षमा खुलेका छन् । उनीहरूले दुवै पक्षका राम्रा उम्मेदवारहरू छानेर जिताए एमाले बलियो र गतिशील हुने बताएका छन्। महाधिवेशन प्रतिनिधिहरूको मनस्थिति हेर्दा यसपटकको निर्वाचनमा पदाधिकारी र केन्द्रीय सदस्यको छनोट मिश्रित हुने सम्भावना बढी देखिएको छ । ओली र पोखरेल प्यानलबीच हुने प्रतिस्पर्धाका उम्मेदवारहरु विगतमा पार्टी जीवनमा लामो काम गरेका र योगदान गरेका नेताहरु छन् । महाधिवेशन प्रतिनिधिहरूको भनाइ अनुसार उम्मेदवार भएका नेताहरू एमालेकै पार्टी जीवनमा लामो समय काम गरेको र यसपटकको नेतृत्व चयनमा सन्तुलित उम्मेदवार हुनुपर्ने पक्षमा देखेका छन् यद्यपि दुवै पक्षले माथिदेखि तलसम्म प्यानलमा विजय गराउने कसरत भने जारी राखेका छन् ! खासगरी ईश्वर पोखरेल पक्षले संस्थापन पक्षमा उम्मेदवार हुन नपाएका नेताहरूको मनस्थितिमा खेलेर आफ्नो पक्षमा परिणाम पार्ने कसरत गरिरहेका छन् भने संस्थापन पक्षले आगामी दिनमा व्यवस्थापन गर्न असन्तुष्ट नेताहरुलाई फकाइरहेका छन् । यसपटकको एमालेको महाधिवेशन नवौं महाधिवेशनमा जस्तै देखिएको छ । नवौं महाधिवेशनमा अहिलेका अध्यक्षका उम्मेद्वार केपी शर्मा ओलीले माधवकुमार नेपाललाई पराजित गरेका थिए । त्यतिबेला ओलीले माधवकुमार नेपाललाई पराजित गरेका थिए भने निर्वाचन परिणाम मिश्रित आएको थियो र दुवै पक्षका उम्मेदवारहरूले पदाधिकारीदेखि केन्द्रीय कमिटीमा जितेका थिए । यसपटक पनि धेरै महाधिवेशन प्रतिनिधिहरुले मिश्रित परिणाम आउने आकलन गर्दै मतदान गर्ने मनस्थिति बनाएका छन् ।

