एमाले भित्र नेतृत्व चयनको बहस पुनः सतहमा, केन्द्रीय सदस्यमै सीमित भए प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) को महाधिवेशन स्थल भृकुटीमण्डपबाट फर्किँदा नेता प्रदीप ज्ञवाली भावुक देखिए । पार्टी नेतृत्वका मुख्य पदतर्फ उम्मेदवारी नदिई उनी केन्द्रीय सदस्यमा मात्र सीमित भएपछि एमाले भित्र नेतृत्व चयनको शैली र गुटीय राजनीतिबारे पुनः बहस चर्किएको छ।
पार्टीभित्र बौद्धिक, शालिन र सन्तुलित नेताका रूपमा चिनिएका ज्ञवालीले खुला प्रतिस्पर्धाको अपेक्षा गरे पनि गुटीय संरचनाले त्यो सम्भव नभएको सन्देश घटनाक्रमबाट देखिएको विश्लेषकहरू बताउँछन्। एमालेमा उम्मेदवारी दिने अधिकार सबैलाई भए पनि व्यवहारमा ‘टिके प्रथा’ हावी हुँदै गएको आरोप पार्टीकै नेताहरूबाट उठ्न थालेको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार, नेतृत्वमा विश्वास भए जितेर देखाउन सकिन्छ भन्ने तर्क सैद्धान्तिक रूपमा सही भए पनि संगठनभित्र शक्ति सन्तुलन, गुटीय समर्थन र नेतृत्वको अनुकम्पा निर्णायक बन्ने गरेको यथार्थ पनि उत्तिकै स्पष्ट छ। यही संरचनाले गर्दा फरक धारणा राख्ने र स्वतन्त्र छवि भएका नेताहरू क्रमशः किनारामा पर्ने खतरा बढ्दै गएको टिप्पणी गरिन्छ।
प्रदीप ज्ञवालीको अवस्थालाई केहीले पूर्व नेता भीम रावलको राजनीतिक यात्रासँग तुलना गरेका छन्। फरक मत राख्ने नेताहरू क्रमशः निर्णय प्रक्रियाबाट बाहिरिँदै जानु पार्टीका लागि दीर्घकालीन रूपमा सकारात्मक नहुने उनीहरूको निष्कर्ष छ।
एमालेभित्र एउटै व्यक्तिलाई बारम्बार दोहोर्याइरहने प्रवृत्ति र आलोचनालाई असहज रूपमा लिने संस्कृतिले संगठनको आन्तरिक लोकतन्त्र कमजोर बनाएको आवाज बढ्दो छ। ज्ञवाली जस्ता बौद्धिक नेताहरू नेतृत्वको घेराभित्र अट्न नसक्नु वा अट्न नचाहनु पार्टीको चरित्र र भविष्य नेतृत्व दुवैका लागि गम्भीर संकेत भएको विश्लेषण गरिएको छ।
यस घटनाले एमालेभित्र “नेतृत्व परिवर्तन, विचारको सम्मान र वास्तविक प्रतिस्पर्धा” अब अपरिहार्य बहसको विषय बनेको स्पष्ट देखिएको छ।

