अध्यक्षमा केपी ओली र ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । ११ औं महाधिवेशन जारी रहेको भृकुटीमण्डप स्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर ओलीले अध्यक्षमा उम्मेदवारी दिएका हुन्। ओलीले योसँगै तेस्रो पटक अध्यक्षमा प्रतिस्पर्धा गर्न लागेका हुन्। ओली नवौं र दसौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका थिए। सो क्रममा ओलीले केहीबेर अघिमात्रै आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । अर्का अध्यक्षका प्रत्यासी पोखरेलले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् । निर्वाचन कार्यतालिका अनुसार, मतदान भोलि हुँदैछ । आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ । ओली र पोखरेल दुवै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् । संशोधित कार्यतालिकाअनुसार दरखास्त दर्ता सम्पन्न भएपछि केहीबेरमै उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ । त्यसपछि उम्मेदवारहरूको प्रारम्भिक नामावली उपर उजुरी दिने समय सुरू हुने छ । उजुरी दिने समय दिउँसो ४ देखि साढे ४ बजेसम्म तोकिएको छ । उजुरीमाथि जाँचबुझ लगायतका प्रक्रिया पूरा गरेपछि साेमबार साँझ साढे ६ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ । मंगलबार पुस १ गते बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म नयाँ कार्यसमिति चयनका लागि मतदान गर्ने गरी कार्यतालिका तयार पारिएको छ । २ हजार २ सय ६२ जना प्रतिनिधिले नेतृत्व चयनका लागि मतदान गर्नेछन् । यसैबीच अध्यक्षका उम्मेदवारहरू केपी शर्मा ओली र ईश्वर पोखरेलले आ-आफ्ना प्यानलको सूची सार्वजनिक गरेर निर्वाचन अभियान अघि बढाएका छन् । अध्यक्ष ओली प्यानलको उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल, पृथ्वी सुब्बा गुरूङ र प्रदीप ज्ञवाली रहेका छन् भने महासचिवमा शंकर पोखरेललाई नै दोहोर्याइएको छ । यस्तै, उपमहासचिवमा विष्णु रिमाल, लेखराज भट्ट र रघुवीर महासेठ तथा सचिवमा भानुभक्त ढकाल, पद्मा अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई, खगराज अधिकारी र महेश बस्नेत छन् । यसैगरी ईश्वर पोखरेल समूहमा उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण विष्ट, बिन्दा पाण्डे र परशुराम मेघी गुरुङ रहेका छन् । महासचिवमा सुरेन्द्र पाण्डे तथा उपमहासचिवमा योगेश भट्टराई रहेका छन् । सचिव पदका लागि पोखरेल समूहबाट विनोद ढकाल, ठाकुर गैरे, गोकुल बाँस्कोटा, कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा र रचना खड्का रहेका छन् ।

