काठमाडौं । जेनजी अगुवा मिराज ढुंगानाले प्रधानमन्त्री सुशीला कार्कीसँग बुधबार भएको सम्झौता धोका भएको बताएका छन् । यो सम्झौताले जेनजी आन्दोलन तुहाउने षडयन्त्र भएको पनि उल्लेख गरेका छन् । जेनजी आन्दोलन संस्थागत गर्नेगरी भएको सम्झौताविरुद्ध विज्ञप्ति प्रकाशित गरी उनले सो सम्झौतालाई नमान्ने चेतावनीसमेत दिएका छन् । ‘यो सम्झौता आन्दोलन तुहाउने षड्यन्त्र र भ्रमपूर्ण रहेकोमा हामी विश्वस्त छौँ,’ उनले भनेका छन्, ‘प्रस्तुत सम्झौताप्रति हामी समर्थन जनाउन असमर्थ छौँ र स्पष्ट रुपमा यसको घोर विरोध गर्छौं।’ बुधबार उक्त सम्झौतामा हस्ताक्षर लगत्तै जेनजीहरूको एउटा समूहले प्रधानमन्त्री कार्यालयमा विवाद गरेका थिए। उनीहरूले सम्झौताको प्रति समेत च्यातिदिएका थिए । सम्झौताले आफूहरूको माग पूरा नहुने भएकाले च्यातिदिएको जितेन्द्रकुमार महतो बताउँछन्। महतो भन्छन्, ‘यो सम्झौताको ड्राफ्ट कसले बनाएको हो, यसमा हाम्रो संलग्लता छैन। त्यहाँ धेरै राख्नु पर्ने कुराहरू छन्। ती कुराहरूलाई राखेकै छैन। दुईचार जना जेनजी भोलेन्टियर राखेर प्रधानमन्त्री कार्यालयमा हामीलाई बोल्नै दिइएन।’ यसअघि मंसिर ८ गते प्रधानमन्त्री कार्यालयमा हुलदंगा र खेलकुद मन्त्रालयमा पिटापिट गर्ने जेनजीहरूले नै बुधबार पनि विवाद झिकेका थिए। यो समूह बुधबार चिनिएका अनुहारमध्ये जितेन्द्रकुमार महतो र सुप्रिया राज्यलक्ष्मी शाही थिए। काउन्सिल अफ जेनजीका कोसी प्रदेश संयोजक उपार्जुन चाम्लिङ भने सम्झौतामा ‘राजा’ शब्द नदेखेपछि उनीहरू भड्किएको बताउँछन्। हस्ताक्षर भइसकेपछि उनीहरूले विवाद सुरु गरेको उनले बताए। हस्ताक्षर समारोहमा जेनजीको तर्फबाट नेपाल जेनजी फ्रन्ट (रक्षा बमको समूह), काउन्सिल अफ जेनजी (सुदन गुरुङको समूह) र जेनजी मुभमेन्ट अलायन्सका जेनजीहरू, घाइते जेनजी, सहिद परिवार लगायतको उपस्थिति थियो।