एमाले महाधिवेशनमा ओली–पोखरेल भिडन्त तय, कस्ताे छ शक्ति सन्तुलन ?

काठमाडाै । एमालेको ११औँ महाधिवेशन (२७–२९ मंसिर) मा अध्यक्ष पदका दाबेदार केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबिच प्रत्यक्ष प्रतिस्पर्धा निश्चितजस्तै भएको छ । तर, महाधिवेशन सुरु हुन पाँच दिन मात्रै बाँकी रहँदा दुवै समूहले प्यानल गठन गर्न सकेका छैनन् । गत भदौको विधान महाधिवेशनबाट पारित विधानमा १५ सदस्यीय पदाधिकारी प्रस्ताव छ । पार्टीको आगामी नेतृत्वका लागि कमान्डर तय भए आकांक्षीहरूको व्यवस्थापन, सम्भावित सहमति र विधानमै पदाधिकारी संख्या हेरफेर गर्न सकिने विषयले प्यानल निर्माणमा दुवै पक्ष अलमलमा छन् । पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रियतासँगै दुवै पक्ष तटस्थ प्रतिनिधि तान्ने प्रयासमा छन् । संस्थापन पक्षले ओलीलाई अध्यक्ष स्विकारेर सहमति हुन सक्ने विकल्प खुला राखेको छ भने पोखरेल समूहले जेन–जी आन्दोलनपछिको परिवेशलाई आत्मसात् गरेर तथा पार्टीको आन्तरिक लोकतन्त्रक बलियो बनाउन ओलीले अध्यक्षको दाबेदारी छाड्नुपर्ने पक्षमा छ । पूर्वराष्ट्रपति भण्डारीको सदस्यता रोकेका ओलीको चाहना निर्विकल्प अध्यक्ष हुनेछ । प्रतिनिधि छनोट सकिएको एक हप्ता बित्दा पनि दुवै पक्ष चुनावी अंकगणित र सम्भावित तटस्थ प्रतिनिधि आकर्षण गर्नेतिरै लागिरहेका छन् । पदाधिकारीसहित आकांक्षी समेटेर प्यानल निर्माणमा देखिएको ढिलाइमा दुवै पक्षका रणनीति पनि छन् । समूह बनाउन अलमलमा परेका दुवै समूहका नेताले फरक–फरक तर्क गरेर ढिलाइको पुष्टि गर्ने कोसिस गरेका छन् । पदाधिकारी संख्या थपेर भए पनि सर्वसम्मतिका लागि प्रयास गर्ने र सफल नभए पोखरेललाई थकाएर मात्र अन्तिममा चुनावी प्रतिस्पर्धामा जाने संस्थापन पक्षको मनस्थिति देखिएको छ । अर्कोतिर पूर्वराष्ट्रपति भण्डारीको अग्रसरतामा वरिष्ठ उपाध्यक्ष पोखरेल संस्थापन फुटाएर बलियो प्यानल बनाउने रणनीतिमा छ । संस्थापन पक्षधर मानिने उपमहासचिव प्रदीप ज्ञवालीले सकभर सर्वसम्मतिकै लागि कोसिस हुने र त्यसका लागि विधान संशोधन गरेर के गर्न सकिन्छ भन्नेलगायतका विषयमा सचिवालय र केन्द्रीय कमिटी बैठकमा छलफल हुने बताए । उनका अनुसार त्यसपछि समूह निर्माणलगायतका काम अगाडि बढ्नेछन् । ओली समूहमा आकांक्षी धेरै रहेकाले त्यहाँ व्यवस्थापन नहुने नेताको प्रतिक्रिया हेरेर सकेसम्म प्रभावशाली नेतालाई नै आफ्नो समूहमा ल्याएर मात्र टिम निर्माण गर्ने रणनीतिमा पोखरेल समूह छ । तटस्थ प्रतिनिधि तान्ने र संस्थापनमा महासचिवका आकांक्षी तानेर टिम निर्माण गर्ने पोखरेलसहितका नेताको प्राथमिकता छ । पोखरेल पक्षले पनि पदाधिकारीसहित टिम निर्माणमा क–कसलाई कसरी समेट्ने भन्नेबारे अहिले छलफल नै सुरु नभएको प्रतिक्रिया दिएको छ । गुन्डुस्थित निवासमा वरिष्ठ उपाध्यक्ष पोखरेलसँगको भेटवार्तामा ओलीले देश संकटमा परेका वेला मिलेर जानुपर्ने भन्दै त्यसका लागि तयार रहन प्रस्ताव गरेका थिए । तर, पोखरेलले भने अध्यक्षजस्तो अभिभावक नै सहयोद्धालाई गालीगलौज गर्ने र होच्याउनेतिर लागेकाले सहमतिको सम्भावना नदेखाएको जवाफ दिएका थिए । ओलीसँग नियमित सम्पर्कमा रहेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सर्वसम्मतिकै लागि थुप्रै विकल्पसहितका सुझाव दिइएकाले अध्यक्षले उपयुक्त समयमा प्रस्ताव गर्ने दाबी गरे । अहिलेको विधानमा १५ सदस्यीय पदाधिकारीलाई पुरानै १९ सदस्यीय पुर्याउने या त्यसभन्दा पनि बढाएर नयाँ आकांक्षीलाई समेट्ने विषयतिर ओलीले सर्वसम्मतिका लागि आन्तरिक गृहकार्य गरिरहेको उनीनिकट नेताको दाबी छ । तर, पोखरेल समूह भने सहमतिभन्दा पनि चुनावी तयारीतिरै लागेको छ । प्रस्तावित १५ सदस्यीय पदाधिकारीमा अध्यक्ष, तीन उपाध्यक्ष, महासचिव, तीन उपमहासचिव र सात सचिव छन् । केन्द्रीय समिति २५१ सदस्यीय हुने विधान पारित भएको छ । हाल एमालेमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहित १९ पदाधिकारी छन् । पुरानै नेताको व्यवस्थापन कठिन, शंकर दोहोर्याउने कि नयाँ खोज्ने ओलीका लागि चुनौती तेस्रोपटक अध्यक्ष हुने तयारीमा रहेका ओलीलाई १९ सदस्यीय पदाधिकारीमा ११ नेताहरूले साथ दिइरहेका छन् । उनीहरूमध्ये उपाध्यक्ष विष्णु पौडेल र रामबहादुर थापाले पुरानै पदमा दोहोरिन चाहेको बताइसकेका छन् । अर्का उपाध्यक्ष गुरु बराललाई पनि व्यवस्थापन गर्नुपर्ने ओलीलाई चुनौती छ । बाँकी उपाध्यक्षहरू युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे र अष्टलक्ष्मी शाक्यले खुलेर पोखरेललाई साथ दिइरहेका छन् । उनीहरू पोखरेल प्यानलबाट उपाध्यक्षमा दोहोरिन तयार छन् । ओलीका लागि सबैभन्दा ठुलो चुनौती महासचिवमा शंकर पोखरेललाई दोहोर्याउने कि उपमहासचिवमध्येबाट नयाँ उम्मेदवार ल्याउने भन्ने छ । पोखरेलले पुनः दोहोरिन चाहेका छन् । उता, उपमहासचिव प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ पनि महासचिव बन्ने जोडबलमा छन् । गुरुङले त देश दौडाहाका क्रममा नेता–कार्यकर्ताहरूबिचमा आफ्नो योजना नै सुनाइसकेका छन् । ज्ञवालीले महासचिवपछिको महत्वपूर्ण मानिने स्कुल विभागको जिम्मेवारी सम्हालेर स्वाभाविक दाबेदारका रूपमा उभ्याउँदै आएका छन् । प्रशिक्षणकै सिलसिलामा धेरै जिल्ला दौडाहामा पुग्ने नेताहरूमा अध्यक्ष र महासचिवकै हाराहारीमा ज्ञवाली अग्रपंक्तिमा छन् । गुरुङलाई उपाध्यक्ष विष्णु पौडेलको पनि साथ रहेकाले तत्कालका लागि ओली समूह बलियो छ । गुरुङलाई उम्मेदवार नबनाइए क्याम्प परिवर्तन गर्दा अध्यक्षकै नतिजामा उलटफेर हुन सक्ने खतरा ओली पक्षले देखेको छ । त्यसैले ओलीले कुनै संकेत नगरी गुरुङलाई ‘इंगेज’ राखेका छन् । जेन–जी आन्दोलनपछि सबभन्दा बढी नेतृत्वको रक्षामा उभिएर गुरुङले महासचिव बन्न चाहेको जनाउ ओलीलाई दिइसकेका छन् । अर्कोतर्फ पोखरेल पक्ष पौडेल र गुरुङलाई जुनसुकै पद दिन तयार देखिएको छ । अर्कातिर पौडेलसँगै नजिक रहेका सचिव रघुवीर महासेठ र पद्मा अर्यालले पनि समूह परिवर्तन गर्न सक्ने पोखरेलको बुझाइ छ । अध्यक्ष ओली ज्ञवाली र गुरुङमध्ये एकलाई एकलाई उपाध्यक्ष र एकलाई महासचिवमा उठाएर पोखरेललाई यसपटक उपाध्यक्षमा उठाउने योजनामा रहेको स्रोतले जनाएको छ । तर, पोखरेलले मुख नखोलिसके पनि अरू पदमा उठ्न तयार नभएको जनाऊ दिइसकेका छन् । उपाध्यक्ष पौडेल पनि पोखरेललाई महासचिवमा दोहोरिन नदिएर १२औँ महाधिवेशनमा आफू अध्यक्षको बलियो प्रत्याशी बन्ने योजनामा छन् । निकट नेताहरूका अनुसार ओली उपमहासचिव विष्णु रिमाललाई उपाध्यक्षमा उठाउने योजनामा छन् । त्यस्तै, उपमहासचिवमा लेखराज भट्ट, पद्मा अर्याल, छविलाल विश्वकर्मा र रघुवीरमध्येबाट उठाउने सम्भावना रहे पनि जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले पनि रुचि राखेका छन् । सचिवमा भने स्थायी समिति र पोलिटब्युरोका झन्डै तीन दर्जन नेता संस्थापनतिरैबाट आकांक्षी छन् । उता, भण्डारी–पोखरेल समूहबाट सुरेन्द्र पाण्डेलाई महासचिवमा उठाउने सम्भावना पनि छ । तर, गुरुङ आफ्नो समूहमा आए भण्डारी–पोखरेलले उनलाई उठाउने रणनीति बनाएको छ । गुरुङ नआए यो समूहले योगेश भट्टराईलाई महासचिवको उम्मेदवार बनाउन चाहेको छ । त्यस्तो अवस्थामा सचिव गोकर्ण विष्टलाई उपाध्यक्ष र उपमहासचिवमध्ये कुनै एक रोजेको पदमा उठाइने पनि ती पदाधिकारीले बताए । यद्यपि, विष्टलाई महासचिवमा उठाउँदामा लुम्बिनी र गण्डकीतर्फको मत धेरै तान्न सकिने अन्तिम निष्कर्ष आए उनलाई नै पनि त्यही पदमा उठाउन सक्ने सम्भावना पनि छ । पोखरेलकै समूहबाट उपमहासचिवमा विन्दा पाण्डेको पनि चर्चा छ । यो समूहले सचिवमा गोकुल बाँस्कोटा, कर्ण थापा, ठाकुर गैरे, विनोद ढकाल, रचना खड्का, रमेश पौडेलसहित नयाँ अनुहार र युवा पुस्ताको प्रतिनिधित्वका रूपमा पनि चर्चा छ । उपमहासचिवमै संस्थापनबाट रघुजी पन्त तथा पोखरेल समूहबाट भीम आचार्यको पनि चर्चा छ । सचिवमा धेरै आकांक्षी एमालेका स्थायी कमिटी र पोलिटब्युरोमा रहेका थुप्रै नेताहरू सचिवका आकांक्षी छन् । स्थायी कमिटीमा रहेका प्रचार विभागका प्रमुख राजेन्द्र गौतम, महेश बस्नेत, राजेन्द्र गौतम, खगराज अधिकारी, डा. राजन भट्टराई, रघुजी पन्त, गोकुल बाँस्कोटा, हिक्मत कार्की, किरण गुरुङ, लालबाबु पण्डित, पार्वत गुरुङ, अरुण नेपाल, आनन्दप्रसाद पोखरेल, काशीनाथ अधिकारी, कर्ण थापा, हिक्मत कार्की, शेरबहादुर तामाङ, शेरधन राई, यमलाल कँडेल, अग्नि खरेल, कृष्णगोपाल श्रेष्ठ, गोरखबहादुर बोगटी, सीताकुमारी पौडेल, थममाया थापा, लीलानाथ श्रेष्ठलगायत छन् । यिनीहरूमध्ये अग्नि खरेल र कृष्णगोपाल श्रेष्ठको पनि पछिल्ला दिनमा संस्थापनसँग दूरी बढेको छ । उता, नेकपा एसबाट प्रवेश गरेकी रामकुमारी झाँक्रीको नाम पनि सचिवमै चलिरहेको छ भने सचिवमा चर्चामा रहेका बस्नेतलाई ओलीले उपमहासचिवमा उठाउन सक्ने सम्भावना रहेको पनि स्रोतले दाबी गरेको छ । उद्घाटन : लोकतन्त्रको पक्षमा मिनी जनमत देखाउने तयारी एमालेले ११औँ महाधिवेशनका लागि भक्तपुरको सल्लाघारीस्थित चउरमा महाधिवेशनको उद्घाटन समारोह आयोजना गरेको छ । जेन–जी आन्दोलनपछि लोकतन्त्र धरापमा परेको निष्कर्षसहित जनपरिचालनमा लागेको एमालेले उद्घाटन कार्यक्रमलाई लोकतन्त्रको पक्षमा ऐक्यबद्धता जनाउने थलो बनाउन चाहेको छ । नयाँ पत्रिकाबाट

