सिपि गजुरेल नेतृत्वको क्रान्तिकारी पार्टीले निर्वाचन बहिष्कार गर्ने

मंसिर १६–१७ गते चितवनमा बसेको केन्द्रीय समितिको बैठकको निर्णय बिहीबार भरतपुरमा सार्वजनिक गर्दै पार्टीले चुनाव बहिष्कार गर्ने जनाएको हो। जेन्जिर आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारलाई ‘अमेरिकी योजनामा बनेको कठपुतली सरकार’ भन्दै आएको यो पार्टीले निर्वाचन प्रक्रियालाई पूर्ण रूपमा बहिष्कार गर्ने निर्णय गरेको छ।
पार्टीको साङ्गठनिक क्षमताअनुसार वर्तमान सरकार र व्यवस्थाको भण्डाफोर गर्दै निर्वाचन बहिष्कारको कार्यक्रम अगाडि बढाउने महासचिव गजुरेलले जानकारी दिए। यसैबीच, पार्टीले देशभक्त, गणतन्त्रवादी, क्रान्तिकारी, जनवादी तथा वामपन्थी शक्तिहरूबीच संयुक्त मोर्चा निर्माण गर्ने र स्वाधीन संयुक्त सरकारको पक्षमा आन्दोलनलाई तीव्रता दिने पनि घोषणा गरेको छ।


