कर्ण थापालाई पार्टी अफिसमा अध्यक्ष ओलीकै अघि धक्कामुक्का भएपछि

काठमाडौं । नेकपा एमालेको राजनीतिमा कर्ण थापा कुनै बेला अध्यक्ष केपी ओलीकै पक्षमा खुलेर लागेका नेता हुन् । तर ओलीको व्यवहार र विचारमा असहमत हुँदै उनी अहिले विद्यादेवी भण्डारी र इश्वरा पोखरेलको पक्षमा खुलेरै लागेका छन् । जसका कारण उनले विधान महाधिवेशनमा बोल्न पाएनन् भने आगामी महाधिवेशनमा उनी इश्वर पोखरेल जिताउने पक्षमा खुलेका छन् । उनको यस्तो अडानले संस्थापन ओली पक्षबाट भने थापा पार्टी भित्रै तारो बन्दै आएका छन् । आइतबार पार्टी कार्यालय च्यासलमा उनीमाथि अध्यक्ष केपी ओलीकै अघि उनको सुरक्षाका लागि भन्दै हिडेकाहरुबाट त्यस्तै अभद्र व्यहार भयो । थापामाथि केन्द्रीय कार्यालयमै दुर्व्यवहार भएको भन्दै पार्टीका नेताहरूले निन्दा, भर्त्सना गरिरहेका छन्। आइतबार ११ औं महाधिवेशनको लोगो सार्वजनिक गर्ने कार्यक्रममा पुगेका पोलिटब्युरो सदस्यलाई अध्यक्ष केपी शर्मा ओलीको सुरक्षामा खटिएका स्वयंसेवकले धकेलेको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ। उनलाई दाङका कृष्णसागर वलीले धकेलेको एमालेकै नेताहरूले बताएका छन्। जुन सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती बनाइएको भिडिओमा पनि देख्न सकिन्छ। अहिले एमालेवृत्तमै घटनाबारे टिप्पणी भइरहेकाले र पक्षविपक्षमा बहस भइरहेकाले यसबारे हामीले कर्ण थापालाई सोध्यौं। उनले लोगो सार्वजनिक कार्यक्रममा जानुअगावै अध्यक्षको सुरक्षामा खटिएका वली थरका युवकले धकेलेको बताए। अध्यक्षले हात समातेपछि जाउँ भनेपछि जाँदै गर्दा अचानक धकेलिएकाे उनले बताएका छन् । उनले अध्यक्षको सुरक्षा घेरामा रहेका भनिएका व्यक्तिहरू आपराधिक पृष्ठभूमिको रहेको भन्दै आफूले यसबारे अध्यक्षलाई नै जानकारी गराएको पनि बताए। केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने अध्यक्षको सुरक्षार्थ खटिएकाहरू हिँड्दा सामान्य धक्कामुक्का भएको हुन सक्ने भन्दै यसलाई सामान्य रूपमा लिन आग्रह गरे।

