बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले गरे एमाले परित्याग

धनगढी – नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गर्दै पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले पार्टी परित्यागको घोषणा गरेका छन्।
सर्वसम्मत चयनको नाममा गुटगत चलखेल भएको आरोप लगाउँदै चन्दले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत यो घोषणा गरेका हुन्। प्रदेश सल्लाहकार समिति सदस्यसमेत रहेका चन्द २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाटै पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए।
प्रतिनिधि चयनमा आफूलाई समावेश नगारिएको भन्दै चन्दले पार्टीको जिल्ला इन्चार्ज लिलाधर भट्ट र पूर्वमन्त्री दामोदर भण्डारीले आफूलाई रोकेको दाबी गरेका छन्। उनले पार्टी जिम्मेवारी भट्टलाई, भने गाउँपालिकाको जिम्मेवारी उपाध्यक्ष बिना भट्ट र वडा नम्बर ७ का अध्यक्ष रामसिंह पुजारालाई हस्तान्तरण गरेको उल्लेख गरेका छन्।
चन्दले फेसबुक पोस्टमा लेखेका छन्, “पार्टीभित्रको चरम गुटबन्दी, चाकरी र झोले प्रथाले धेरै दिक्क बनाएको थियो। निरंकुश नेतृत्वविरुद्ध समय–समयमा आवाज उठाएँ, तर अन्ततः सकिन।”
यसैबीच, एमाले बैतडीले शनिबार नै १५ जना राष्ट्रिय महाधिवेशन प्रतिनिधि सर्वसम्मत रूपमा चयन गरेको थियो। चन्दको यो कदमले स्थानीय तहमा पार्टीभित्रको आन्तरिक द्वन्द्व थप उजागर गरेको छ।

