पोखरा  ।  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को गण्डकी प्रदेशस्तरीय एकता सन्देश सभा आज  चिप्लेढुङ्गास्थित मानवअधिकार चोकमा आयोजना हुँदैछ। सभा बिहान ११:३० बजे सुरु हुने भएको छ। पोखरामा आयोजित पत्रकार सम्मेलनमा पार्टीले यो जानकारी दिँदै तयारी तीनवटै तहमा प्रभावकारी रूपमा अगाडि बढाइएको जनाएको छ।  जनपरिचालन, स्वयंसेवक, प्रचार–प्रसार, आर्थिक तथा मञ्च व्यवस्थापनका लागि छुट्टाछुट्टै समिति गठन गरिएको महाधिवेशन आयोजक समिति सदस्य गायत्री गुरुङले बताइन्।  सभामा पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेता भीम रावललगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।  यो सभाले पार्टीको एकताको सन्देशलाई प्रदेशभरि फैलाउने अपेक्षा गरिएको आयोजक समिति सदस्य दीननाथ शर्माले उल्लेख गरे। नेकपाले दाङकाे देउखुरी र धनगढीमा सन्देश सभा सम्पन्न गरिसकेकाे छ ।