ओली विरूद्ध इश्वर पोखरेलले गरे उम्मेदवारी घोषणा

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ११औँ महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवार बन्ने घोषणा गरेका छन्। मंगलबार लिखित वक्तव्य जारी गर्दै उनले पार्टी पुनर्गठन र रुपान्तरणका लागि विभिन्न तहबाट आएको आग्रह स्वीकारेर आफ्नो दाबेदारी प्रस्तुत गर्ने निष्कर्षमा पुगेको बताएका हुन् । उनले वक्तव्यमा भनेका छन्, ‘पार्टी पुनर्गठन र रुपान्तरणका लागि देशभरिका साथीहरूले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हुँ । पार्टीका कमरेडहरूको योग्यता, क्षमता र रुचिअनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहलमार्फत नेकपा (एमाले)लाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्न म प्रतिबद्ध छु।’ पार्टीभित्र तगारो खेपिरहेका बेला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पोखरेललाई अगाडि सारेको बताइन्छ । उनले अहिले लिखित वक्तव्यमार्फत मात्रै आफ्नो निर्णय सार्वजनिक गरेका छन् । पोखरेलले पार्टी सदस्यहरूको प्रत्यक्ष सहभागितामा यही मंसिर १३ गते देश तथा प्रवासमा महाधिवेशनका प्रतिनिधि चयन हुने जानकारी दिँदै प्रतिनिधि छनोटमा उच्च विवेक, स्वस्थ, मर्यादित र निर्भय सहभागिताका लागि सबैलाई आह्वान गरेका छन्। आन्तरिक लोकतन्त्रसम्बन्धी आफ्नै मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका खेल्ने अपेक्षा उनले व्यक्त गरेका छन्।

