काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले आफ्नो पार्टी ताजा जनादेशका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन् । धनगढीमा आयोजित पत्रकार सम्मेलनमा रावलले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने भन्दै सरकारलाई आवश्यक वातावरण बनाउन आग्रह गरे । उनका अनुसार कारागारबाट फरार कैदीहरू सम्पर्कमा नआएको, हतियार तथा गोली बरामद नभएकोजस्ता घटनाले निर्वाचनको भयरहित वातावरण बनिसकेको छैन । उनले भने, ‘ताजा जनादेशको लागि हामी तयारी अवस्थामा छौँ । फागुन २१ गते हुने निर्वाचन स्वच्छ र भयरहित अवस्थामा सम्पन्न गराउन सरकारले त्यही अनुसारको वातावरण बनाउनु पर्छ । अझै त्यस्तो वातावरण बनिसकेको छैन।’ फरार कैदी र नियन्त्रणमा नआएका हतियारका कारण जोखिम यथावत् रहेको भन्दै रावलले थपे, ‘कैदी बन्दी फरार छन्, गोली हतियार नियन्त्रणमा आएका छैनन् । सरकारले त्यसमा ध्यान दिनुपर्छ । सबै गतिविधिहरूमा सरकारले चासो राखेर निर्वाचनको सुनिश्चित गराउनु पर्छ । त्यो अवस्थामा नेपाली जनताले नेपाली कम्युनिस्ट पार्टीलाई बहुमत दिने छन्।’ मंसिर १२ बाट सुरु हुने एकता सन्देश सभाले देशभर जनलहर थप उचाइमा पुर्‍याउने दाबी गर्दै उनले धनगढीबाट सुरु हुने सभाका लागि तीव्र तयारी भइरहेको जानकारी दिए । धनगढी रङ्गशालामा साढे १२ बजे सुरु हुने सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपालसहित अन्य नेताले सम्बोधन गर्ने उनले बताए। सभाका लागि रावलकै संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको छ । एमाले र काँग्रेसको ‘दम्भ’ का कारण भदौ २३ र २४ गतेको घटना सृजना भएको दाबी गर्दै रावलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सबैभन्दा बढी जिम्मेवार रहेको बताए । दुवै दिनका घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा उनले जोड दिए। सात वटा आपराधिक मुद्दा खेपेको व्यक्तिलाई एमालेले नेश्नल भोलेन्टियर फोर्सको संयोजक बनाएको उल्लेख गर्दै रावलले आलोचना गरे। आसन्न निर्वाचनले त्यस्ता व्यक्ति र प्रवृत्तिलाई पाखा लगाउने विश्वास उनले व्यक्त गरे।