काठमाडौं । आसन्न २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा जनमत कता मोडिँदै छ भन्ने संकेत गर्दै अर्घाखाँचीमा स्वतन्त्र नागरिक अभियानका उम्मेदवारले चारदलीय गठबन्धनका उम्मेदवारलाई पराजित गरेका छन् । कांग्रेस, एमाले, नेकपा (माओवादी, एकीकृत समाजवादीलगायतका दलहरू एकता गरेर बनेको) र जनमोर्चाको चारदलीय गठबन्धनका उम्मेदवारलाई १२० मतान्तरले हराउँदै स्वतन्त्र उम्मेदवार बाबुराम भुसाल सन्धिखर्क खानेपानी संस्थाको अध्यक्षमा विजयी बनेका छन् । ‘दलीय सिन्डिकेट’ तोड्दै वरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष र तीन खुला सदस्य पनि स्वतन्त्र उम्मेदवारले जितेका छन् । नौ सदस्यीय कार्यसमिति र तीन सदस्यीय लेखा समितिमा चार दलले भागबन्डा गरेर उम्मेदवार उठाएका थिए । बुधबार मतदानअघि दलका स्थानीय नेताहरूले विज्ञप्ति नै जारी गरेर गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गरेका थिए । त्यति मात्र होइन, गठबन्धनमा आबद्ध दलहरूले सन्धिखर्कभन्दा अलि टाढा रहेका मतदातालाई घरघरबाट गाडीमा ओसारेका थिए । यति गर्दा पनि स्वतन्त्र उम्मेदवारले नेतृत्वसहित ६ पदमा जित निकाले । मतदाता र राजनीतिक विश्लेषकले निर्वाचनको परिणामलाई ‘दलीय सिन्डिकेट’विरुद्धको विद्रोह भनेका छन् । गठबन्धनले युवराज खत्रीलाई अध्यक्षमा अघि सारेको थियो । स्वतन्त्र उम्मेदवार बनेका भुसाल कांग्रेसका पूर्वनगरसभापति हुन् । बुधबार कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठ र सचिव अच्युत गौतमले विज्ञप्ति जारी गरेर भुसाललाई पार्टीले कारबाही गरेको र खत्री नेतृत्वको टिमलाई जिताउन आफ्ना मतदातालाई ह्विप जारी गरेका थिए । तर, जेन–जी आन्दोलनपछि आफूले पार्टीबाट राजीनामा दिइसकेको अवस्थामा चुनाव प्रभावित पार्ने गरी जिल्ला समितिले कारबाही गरिएको भनेर विज्ञप्ति निकालेको भुसालले बताए ।  गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनपछि राजनीतिक दल छाडेका तथा दलमा आबद्ध नभएकाहरूले स्वतन्त्र नागरिक अभियान स्थापना गरेका छन् । यही अभियानबाट भुसाल खानेपानीको अध्यक्षमा चुनाव लडेका थिए । उनलाई रास्वपा र राप्रपाको सद्भाव थियो । ‘हामीलाई नागरिकको समर्थन र सहयोग रह्यो । रास्वपा र राप्रपाले पनि सद्भाव राख्यो, उहाँहरूले दलीय रूपमा नभई हामीलाई स्वतन्त्र नागरिकका रूपमा सघाउनुभयो । संघसंस्थाको पनि साथ रह्यो,’ भुसालले भने । नवनिर्वाचित अध्यक्ष भुसालले सामाजिक संस्थामा दलीय सिन्डिकेट तोड्न सफल भएको र पारदर्शी ढंगले चलाउने प्रतिक्रिया दिए । ‘लामो समयदेखिको दलीय सिन्डिकेट तोड्न सफल भएका छौँ । नगरवासीले अपार माया र जिम्मेवारी दिनुभएको छ । म त्यो जिम्मेवारी पूरा गर्नेछु,’ उनले भने, ‘हाम्रा सबै काम पारदर्शी हुनेछन् । सबै बैठकको प्रत्यक्ष प्रसारण हुनेछ । आय–व्यय उपभोक्तामाझ सार्वजनिक गर्नेछौँ ।’  राजनीतिक दलले ह्विप नै जारी गरे पनि मतदाताले स्वतन्त्र नागरिकलाई चुनाव जिताएको स्वतन्त्र नागरिक अभियानका संयोजक ज्ञानेन्द्र घिमिरेले बताए । ‘नगरवासीले आफ्नो विवेक प्रयोग गरेर हाम्रो उम्मेदवारलाई निर्वाचित गरेकोमा खुसी छौँ,’ घिमिरेले भने, ‘पहिलो चरणमा जेन–जी आन्दोलनका सहिद माधव सारुमगरको घर (भूमिकास्थान– ४ धारापानी) पुगेर उनको परिवारलाई भेट्नेछौँ । त्यसपछि सबै मतदाताको घरघरमा पुगेर धन्यवाद दिनेछौँ । अनि मात्र हाम्रो टोली नगरको काममा लाग्नेछ ।’ जिल्लामा सक्रिय पुराना राजनीतिक दल र राज्यशक्तिसँग नजिक केहीले निर्वाचन आफ्नो पक्षमा पार्न कोसिस गरे पनि असफल भएको अभियानले बताएको छ । ‘प्रारम्भिक रूपमा घोषणा गरिएका केही उम्मेदवारलाई विभिन्न प्रकारका भावनात्मक दबाब र ब्ल्याकमेलिङमार्फत उम्मेदवारी नदिन बाध्य पारिएको तथ्य पनि लुकेको छैन । एमालेका जिल्ला अध्यक्षले मुख्यमन्त्रीको निर्देशनमा खुलेआम धम्कीपूर्ण भाषण गर्दै (१००) सय मत कटाएर देखाउने चुनौती दिएको घटनाले निर्वाचन वातावरण कत्तिको प्रभावित बनाइएको थियो भन्ने स्पष्ट हुन्छ,’ अभियानले विज्ञप्तिमा भनेको छ, ‘यति सबै बाधा–अड्चनबिच पनि उपभोक्ता–मतदाताहरूले पार्टी, समूह वा विचारभन्दा माथि उठेर आफ्नो विवेक र अधिकार प्रयोग गर्दै स्वतन्त्र रूपमा मतदान गर्नुभएको तथ्य स्वयं परिणामले प्रमाणित गर्छ ।’ अभियानले राजनीति होइन, सेवा, सुशासन र उपभोक्ताको हकहितका लागि पहल अघि बढाएको र यही मूल्यमा अडिग रहने बताएको छ । २५ वर्षअघि स्थापना भएको सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाइ नगर आयोजनाबाट दुई हजार घरपरिवारमा खानेपानी वितरण भइरहेको छ । यस उपभोक्ता मूल संस्थामा सन्धिखर्क नगरपालिका– १ र २ वडा पर्छन् । सदरमुकामको सन्धिखर्क, चुत्राबेँसीलगायतका ठाउँमा खानेपानी वितरण हुँदै आएको छ । आफ्नो तीनवर्षे कार्यकालमा चारदेखि पाँच हजार घरपरिवारमा स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्य रहेको नवनिर्वाचित अध्यक्ष भुसालले बताए । ‘खानेपानी आयोजना सञ्चालनमा आएको २५ वर्ष भए पनि अझै सन्धिखर्कका कैयौँ उपभोक्ताको घरमा पानी पुगेको छैन । ५–६ दिनसम्म धारामा पानी नआउने समस्या पनि छ,’ उनले भने, ‘हामी स्वच्छ पानी घरघर पुर्‍याउने लक्ष्यका साथ आएका हौँ ।’ नौ सदस्यीय कार्यसमिति र तीन सदस्यीय लेखा समिति गरी १२ पदका लागि भएको चुनावमा स्वतन्त्रबाट अध्यक्षसहित तीनजना निर्वाचित भएका हुन् । अध्यक्षमा बाबुराम भुसाल ५६३ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी चार दलका उम्मेदवार युवराज खत्रीले ४४३ मत मात्र पाए । त्यस्तै, वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षमा पनि स्वतन्त्र उम्मेदवार विजयी भए । वेदराज घिमिरे ५१८ मतसहित वरिष्ठ उपाध्यक्षमा विजयी हुँदा उनका प्रतिस्पर्धी गठबन्धनका बाबुराम भुसाल ४२९ मतसहित पराजित भए । उपाध्यक्षमा भने गठबन्धनका भेषबहादुर क्षेत्री ४७१ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी दिलबहादुर वलीले ४४६ मत पाए । सचिवमा गठबन्धनका जीवलाल पौडेल ‘गोपाल’ ४७४ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी कृष्णबहादुर शाहीले ४४१ मत पाए । कोषाध्यक्षमा भने स्वतन्त्रबाट सरिता महत क्षेत्री ४७७ मतससहित विजयी भइन् । प्रतिस्पर्धी सुमित्रा मुखियाले ४४९ मत मात्र पाइन् ।  सहसचिवमा गठबन्धनकी कल्पना पोख्रेल ४६१ मतसहित विजयी हुँदा स्वतन्त्रबाट उम्मेदवार बनेकी शकुन्तला भुसाल ४३९ मत मात्र पाएर पराजित भइन् । तीन सदस्यमा भने गठबन्धनका नवीन सुनार, कमला अर्याल र मतिलाल खनाल विजयी भए । स्वतन्त्रबाट उम्मेदवारी दिएका भीमबहादुर खत्री, टामलाल सार्की र चुमकला गिरी पराजित भएका छन् । लेखा समितिमा गठबन्धनले जितेको छ । सुनिता बेल्वासे संयोजकमा निर्वाचित हुँदा सदस्यमा कमल ढकाल र ज्ञानबहादुर विक विजयी भएका छन् । प्राडा दीपेश घिमिरे भन्छन्– दलहरू रूपान्तरण भएनन् भने झन् ठुलो क्षति भोग्नुपर्ने सन्देश दिएको छ  पहिलो, नागरिक तहमा गठन भएका उपभोक्ता समिति र सामुदायिक संस्थाहरूमा दलीयकरण घातक छ भन्ने स्थानीय मान्छे र सर्वसाधारणले बुझ्न थालेका छन् । खानेपानी, विद्यालय तथा अस्पतालहरूका व्यवस्थापन समिति, उपभोक्ता समितिलगायत सामुदायिक संस्थामा भइरहेको चरम दलीयकरण घातक रहेको नागरिकले बुझेको देखाउँछ । दोस्रो, नागरिकहरू राजनीतिक संरक्षकवादको विरुद्धमा रहेको देखिन्छ । जेमा पनि राजनीतिक आवरण हालेर भइरहेको बेथितिविरुद्ध नागरिक गोलबद्ध भइरहेको देखाउँछ । तेस्रो, दलहरूले आफ्नो सान्दर्भिकता गुमाउन थालेको हो कि जस्तो देखिन्छ । चार दलको गठबन्धन हुँदा पनि स्वतन्त्रले जित्ने भनेको दलहरूले राजनीतिक सान्दर्भिकता गुमाउँदै गएको संकेतका रूपमा लिन सकिन्छ । चौथो, राजनीतिक संस्थामा मात्रै राजनीति हुनुपर्नेमा सबै संस्थामा हुँदा नागरिक यो अवस्थामा पुगेको देखिन्छ । पाँचौँ, राजनीतिमा पुस्तान्तरण रोक्दाको आक्रोश पनि विभिन्न तहबाट प्रकट भइरहेको छ । पछिल्ला परिणामहरू त्यसकै उपज हो । बहुदलीय व्यवस्थाप्रति नागरिकको असन्तुष्टि होइन ।  यसले वैकल्पिक शक्ति वा नयाँ दललाई मौका दिने अवस्था पनि देखिन्छ । यत्रो दलहरूले आफ्नो संगठन यति छ, सदस्य यति छन् भन्छन्, तर नतिजाहरूले ती सबैले बिस्तारै दललाई छोड्दै गएको हो कि जस्तो देखिन्छ । अर्काे, दलहरूले नयाँ भनेको सहरमा मात्रै हो, गाउँमा हाम्रो वर्चस्व छ  भनिरहेका वेला आएका परिणाम झस्काउने खालकै छ । नागरिक समाज, संस्था र उपभोक्ताहरूमा देखिएको परिणामले दलहरूमा हलचल ल्याउँछ । बाँकी रहेको समयमा पनि दलहरू रूपान्तरण हुन सकेनन् भने झन् ठुलो क्षति भोग्नुपर्ने दललाई सन्देश दिएको छ । परिणाम भयावह हुन्छ । सन्धिखर्कमा वकालत गरिरहेका अधिवक्ता जगन्नाथ भुसाल भन्छन्– जनताले दलहरू सुध्रिनुपर्छ भन्ने सन्देश दिए ठुला दलहरूले जनताको भावनाअनुसार काम गरेनन् । पदहरू दिने सवालमा पनि जनताको रुचिअनुसार गरेनन् । उम्मेदवारीमा सिन्डिकेट लागू गरे । खानेपानीको सन्दर्भमा पनि पपुलर मान्छे ख्याल गरेनन् । दलका तीन–चारजना नेता बसेर फलानो–फलानो भने । उम्मेदवारी उठाए । त्यसले आमनागरिक मात्र होइन, दलकै कार्यकर्ता पनि असन्तुष्ट भए । उनीहरूले यिनी सुध्रिऊन् भनेर संकेत दिन दलीय उम्मेदवार हराए । प्रस्ट सन्देश अब दलहरू सुध्रिनुपर्छ भन्ने हो । दलभित्र पनि पूर्ण रूपमा लोकतन्त्र हुनुपर्छ भन्ने सन्देश दिएका छन् । दलले कति मान्छन् हेर्नुपर्छ । मानेनन् भने झन् क्षति व्यहोर्छन् । आमनागरिकले परिवर्तन खोजिरहेका छन् : डा. उद्धव प्याकुरेल काठमाडौं विश्वविद्यालयका मानविकी संकायका डिन तथा राजनीतिक समाजशास्त्री डा. उद्धव प्याकुरेलका अनुसार आमनागरिकले परिवर्तन खोजिरहेका छन् । तर, विविध बाध्यता र संरचनागत कारणले दलीयकरण समाप्त नहुने उनको बुझाइ छ । ‘स्थिर राजनीति र संविधान संस्थागत भए नागरिक स्वतन्त्र बन्छन् । व्यवस्था शुुद्ध नहुँदासम्म नन–पार्टी समाजतर्फ सहजै जान सकिँदैन । यो समाजको मानसिकता र बाध्यता दुवै हो,’ उनले भने । उनका अनुसार नागरिकले अपडेट भएर चल्ने, परिवर्तित समयमा आफूलाई अनुकूल तुल्याउने शक्ति खोजिरहेका छन् । ‘जसरी समाज परिवर्तनशील छ, त्यसैगरी राजनीतिक दल पनि निरन्तर परिवर्तन हुँदै जनतासँग सहकार्य गर्न, उनीहरूको आवाज सुन्न र स्विकार्न सक्षम हुनुपर्छ,’ उनी भन्छन्, ‘त्यो हुन नसक्दा परिवर्तनको एजेन्डा बोकेर आएका नयाँ शक्तितर्फ नागरिक आकर्षित हुन्छन् ।’ स्थानीय संघसंस्थामा यसअघि पनि कांग्रेस, एमालेसहितका गठबन्धनलाई धक्का चन्द्रपुर नगर उद्योग वाणिज्य संघको गत २१ साउनमा सम्पन्न निर्वाचनमा कांग्रेस–एमाले–माओवादीसहितको पाँचदलीय गठबन्धनलाई हराउँदै चन्द्रपुर नगर उद्योग वाणिज्य संघको अध्यक्षमा रास्वपाका उदयनारायण सापकोटा (सुरेन) विजयी भएका थिए । ८०२ मत खस्दा २३३ मतान्तरले सापकोटाले चुनाव जिते । त्यस्तै, गत असारको अन्तिम साता रुपन्देहीको तिलोत्तमा नगरपालिका– ८, मिलन टोल विकास संस्थामा पनि सत्तारूढ कांग्रेस–एमालेको गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै रास्वपाका उम्मेदवार विजयी भएका थिए । नयाँ पत्रिकाबाट