काठमाडौं । बारामा जेनजी युवा र एमालेका नेता–कार्यकर्ताबीच भएको झडप र कर्फ्यू आदेशबारे नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले धारणा सार्वजनिक गरेका छन् ।  उनले बाराको सिमरामा हिजोदेखि जारी तनाव र हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।  स्थितिलाई थप हिंसात्मक तथा नियन्त्रणबाहिर जान नदिन सबै पक्षलाई उच्च संयमता अपनाउन अनुरोध गरेका प्रचण्डले हिंसा र उत्तेजनामा जानु लाेकतान्त्रिक नहुने बताए ।  प्रचण्डले भनेका छन्, ‘लोकतन्त्रमा राजनीतिक तथा वैचारिक मतभिन्नता स्वाभाविक हुन्छ तर त्यसलाई हिंसा वा उत्तेजनामा रुपान्तरण गर्नु लोकतान्त्रिक संस्कृति होइन। त्यसैले राजनीतिक तथा वाक–स्वतन्त्रताको सम्मान गर्दै  राजनीतिक दल र दलका नेताहरूलाई निर्वाधरूपमा हिड्डुल गर्ने, सभा-सम्मेलन गर्ने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउँदछु । घोषित निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन कुनै पनि घटनाले नकारात्मक प्रभाव नपारोस् भन्ने विषयमा समेत सचेत र जिम्मेवार बन्न सबै पक्षसँग आग्रह गर्दछु। साथै, स्थानीय पार्टी समितिहरूलाई परिस्थितिलाई सामान्य बनाउन आवश्यक सहजीकरणको भूमिका निर्वाह गर्न निर्देशन गर्दछु।’