काठमाडौँ  – नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी एकताबारे विशेष अन्तरपार्टी निर्देशन अपिल जारी गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको अनौपचारिक बैठकले यो निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिएका छन्।

बैठकमा पूर्व पदाधिकारीहरू तथा प्रदेशका उपलब्ध नेताहरूको सहभागिता रहेको थियो। खनालले भने, “विशेष अपिल जारी गरेर पार्टीलाई एकढिक्का बनाउने कुराकानी भएको छ। विभिन्न प्रदेश, जिल्ला तथा स्थानीय तहमा एकताको सन्देश सभा आयोजना गर्ने योजना छ।”

उनले देशव्यापी एकताको सन्देश प्रवाह गर्न थप अपिल प्रकाशित गर्ने निर्णय भएको पनि बताए। सन्देश सभाहरूको स्थान, समय र ढाँचाबारे थप छलफल गरी तयारी गर्ने भन्दै खनालले पार्टीले नेपाली विशेषताको समाजवादको यात्रामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

प्रदेश स्तरीय एकता सन्देश सभा 

१. सुदूरपश्चिम प्रदेश स्तरीय एकता सन्देश सभा – मंसिर ९ गते

२. कर्णाली प्रदेश स्तरीय एकता सन्देश सभा – मंसिर १० गते

३.लुम्बिनी प्रदेश स्तरीय एकता सन्देश सभा – मंसिर ११ गते

४. गण्डकी प्रदेश स्तरीय एकता सन्देश सभा – मंसिर १२ गते

५. मधेस प्रदेश स्तरीय एकता सन्देश सभा – मंसिर १३ गते

६. कोशी प्रदेश स्तरीय एकता  सन्देश सभा – मंसिर १४ गते

७ बागमती प्रदेश स्तरीय एकता  सन्देश सभा – पछि मिति तय गरे अनुसार

जिल्ला स्तरीय एकता तथा सन्देश सभा 

१. बागमती प्रदेशको सबै जिल्लाको एकैदिन  – मंसिर १३ गते

२. सुदूरपश्चिम प्रदेशको सबै जिल्लाको एकैदिन – मंसिर १५ गते

३. कर्णाली प्रदेशको सबै जिल्लाको एकैदिन – मंसिर १६ गते

४. लुम्बिनी प्रदेशको सबै जिल्लाको एकैदिन – मंसिर १७ गते

५. गण्डकी प्रदेशको सबै जिल्लाको एकैदिन – मंसिर १८ गते

६. मधेस प्रदेशको सबै जिल्लाको एकैदिन– मंसिर १९ गते

७. कोशी प्रदेशको सबै जिल्लाको एकैदिन – मंसिर २० गते

पालिका स्तरीय एकता सन्देश सभा 

१. देशैभरीको पालिकामा एकैदिन – मंसिर २७ गते

“नेपाली विशेषताको समाजवाद स्थापना गर्ने हाम्रो एकमात्र अर्जुनदृष्टि हुनेछ,” खनालले भने, “अशोक राई र उपेन्द्र यादवका पार्टीहरूसँग कुराकानी भइरहेको छ। केही दिनमै उहाँहरूको पार्टीसँग एकता हुनेछ।”

खनालले नेता घनश्याम भुसालसँग पनि निरन्तर छलफल भइरहेको उल्लेख गर्दै पार्टी एकताको प्रक्रियालाई तीव्रता दिने बताए। यो विकासले नेकपाको पुनर्संयोजन प्रक्रियालाई थप गति दिने अपेक्षा गरिएको छ। पार्टी स्रोतका अनुसार, विशेष अपिल चाँडै सार्वजनिक गरिनेछ।