काठमाडौं । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलका लागि आज (कात्तिक ३०) नै दल दर्ता प्रमाणपत्र लिने अन्तिम दिन हो । निर्वाचन आयोगले तोकेको समयसीमा अनुसार आइतबारसम्म दर्ता प्रक्रिया पूरा नगर्ने दललाई आगामी निर्वाचनमा भाग लिन नपाउनेछ ।

आयोगले गत असोज २० गते नै आधिकारिक सूचना जारी गर्दै कात्तिक ३० गतेभित्रै दल दर्ता प्रमाणपत्र अनिवार्यरूपमा लिनुपर्ने व्यवस्था स्पष्ट पारेको थियो । तर समयसीमा सकिन लागिसक्दा पनि अहिलेसम्म दुईवटा नयाँ दलले मात्र दर्ता प्रमाणपत्र लिएका छन् । श्रम संस्कृति पार्टी र गतिशील लोकतान्त्रिक पार्टीले नयाँ दलको मान्यता पाएका हुन् ।

निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार सोमबारबाट प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता प्रक्रियामा प्रविष्ट हुने भएकाले समयसीमा थप्ने कुनै तयारी छैन । उनले भने, “दल दर्ताको अवधि थप्ने विषयमा आयोगमा औपचारिक छलफल भएको छैन । अहिलेका लागि ३० गते नै अन्तिम मिति कायम छ ।”

आयोगले समयसीमा तोकेयता करिब २८ वटा नयाँ दल दर्ताको प्रक्रियामा रहेको बताइएको छ । तर तीमध्ये कतिले समयमै आवश्यक प्रक्रिया पूरा गर्नेछन् भन्ने अनिश्चितता कायम छ । समयसीमा नथपिने आयोगको धारणा सार्वजनिक भएपछि दर्ता गराउने तयारीमा रहेका दलहरू अन्तिम क्षणमा आयोग धाउन बाध्य भएका छन् ।

विशेषज्ञहरूको भनाइमा समयमै दर्ता नगरिएकाले धेरै दल निर्वाचन प्रक्रियाबाट बाहिरिन सक्ने जोखिम पनि छ । आयोगले आज दिनभर दल दर्ता सम्बन्धी कामलाई प्राथमिकता दिने बताएको छ ।