एमाले अध्यक्ष ओलीले एघारौं महाधिवेशनमा ‘कुनै छलफल नै नहुने र आफ्नो निर्देशनात्मक मन्तव्यपछि समापन हुने’ भन्ने अभिव्यक्तिप्रति शाहले कडा प्रतिक्रिया दिएका छन् । उनले यसलाई ‘जबजको चीरहरण’ गर्ने मनसाय ठानेका छन् ।

शाहले ओलीको प्रधानमन्त्रीकालका घटनाहरूमाथि पनि प्रहार गरे । ‘उहाँको कार्यकालमा स्कुले बालबालिका र नौजवानहरूको हत्या भयो । सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन र शीतलनिवासजस्ता राष्ट्रिय धरोहरहरू नष्ट भए । व्यापारिक घराना र व्यक्तिगत सम्पत्तिको रक्षा गर्नु प्रधानमन्त्रीको जिम्मेवारी थिएन,’ उनले भने, ‘हत्या र सम्पत्ति संरक्षण गर्न नसकेकोमा ग्लानि वा आत्मालोचना त परै जाओस्, उहाँको स्वेच्छाचारिता र निरंकुशताले सीमा नाघ्दै गएको छ । राजनीतिमा इमान, जिम्मेवारी, नैतिकता र जवाफदेहिता कुनै चीजै नहुने हो ? ओलीमा त्यस्तै देखियो ।’

शाहले ओलीभन्दा बढी नैतिकता त पञ्चायतकालका प्रधानमन्त्री कीर्तिनिधि विष्टले देखाएको उल्लेख गर्दै भने, ‘सिंहदरबारमा आगलागी हुँदा विष्टले नैतिकताको आधारमा राजीनामा दिएका थिए ।’ उनले ओलीका पछिल्ला अभिव्यक्तिलाई ‘देशलाई संकट र मुठभेडतर्फ धकेल्ने’ ठानेका छन् । ‘राष्ट्र र जनताप्रति जिम्मेवार कुनै पनि नेताले ओलीको जस्तो हर्कत गर्न सक्दैन,’ शाहले थपे ।

पहिलो प्रदेशसभा कार्यकालमा बाजुराबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा एमाले संसदीय दलका नेता रहेका शाह आन्तरिक मामिला तथा कानुन र आर्थिक मामिलाका मन्त्रीसमेत बनेका थिए । उनी एमाले निकट अनेरास्ववियुको बाजुरा अध्यक्ष हुँदै जिल्ला कमिटी अध्यक्ष बनेका थिए र लगातार दुई पटक केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।