जनकपुरधाम । विश्वासको मत पाउने सम्भावना कमजोर बनेपछि राजीनामाको घोषणा गरेका मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनालले शनिबार साँझ प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीलाई औपचारिक रूपमा राजीनामा पत्र बुझाएका छन् । यसअघि उनले प्रदेशसभा बैठकमै आफूले विश्वासको मत नपाउने निश्चित भएको भन्दै मुख्यमन्त्री पदबाट राजीनामा गर्ने घोषणा गरेका थिए। सोनालले आजकै कार्यसूचीमा विश्वासको मत लिने तयारी गरेका थिए। तर सत्तारूढ आवश्यक बहुमत जुट्ने अवस्था नरहेको बुझेर उनले राजीनामा दिएका हुन् । मधेश प्रदेशसभामा कुल १०७ सदस्य छन् । सरकार गठनका लागि ५४ मत आवश्यक छ। जनमत पार्टीबाट जनस्वाराज पार्टीमा सनाखत गराएका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र त्रिभुवन शाह आजको बैठकमा अनुपस्थित रहे । तर संघीय समाजवादी पार्टीकी सांसद बिमला अन्सारी अनुपस्थित रहिन् भने माओवादी केन्द्रका दुई प्रदेश सांसदले सदनमै विद्रोह गरे । सोनालले विश्वासको मत नपाउने भएपछि प्रदेशसभामा केहीबेरका लागि मत विभाजन प्रक्रिया स्थगित गरिएको छ । सोनलको राजीनामापछि अब नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।