प्रचण्डको नेतृत्वमा आज ९ दलीय एकताः नेपाली कम्युनिस्ट पार्टी घोषणा हुने

काठमाडौं । लामो समयदेखि चलिरहेको वाम पुनर्गठनको प्रयासले आज एक हदसम्ऐम सफलता पाउने भएकाे छ । नेकपा (माओवादी केन्द्र)का संयाेजक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नौ वटा कम्युनिष्ट दल एकीकृत भई नयाँ पार्टी ‘नेपाली कम्युनिस्ट पार्टी’ घोषणा हुने भएकाे हाे । प्रज्ञाभवन, कमलादीमा हिजाे मंगलबार सम्पन्न माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठकमा संयोजक प्रचण्डले नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने जानकारी दिइ सक्नु भएकाे छ । उहाँका अनुसार, लामो समयदेखि चल्दै आएको छलफल र विचार–विमर्शपछि अन्ततः सबै दलबीच सहमति जुटेको छ । आज भृकुटीमण्डपमा विशेष समारोहमार्फत पार्टी एकताको औपचारिक घोषणा गरिने तयारी गरिएको छ । सो अवसरमा नयाँ पार्टीको राजनीतिक घोषणापत्र सार्वजनिक गर्दै नेतृत्व संरचनासमेत प्रस्तुत गरिने बताइएको छ । अब बन्ने ‘नेपाली कम्युनिस्ट पार्टी’ मा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेकपा (माओवादी समाजवादी), नेकपा (साम्यवादी), देशभक्त समाजवादी माेर्चा, नेत्रबिक्रम चन्द विपल्वकाे नेकपा एउटा समूह गरी नौ वटा दल सहभागी हुने भएका छन् । नयाँ पार्टीको चुनाव चिन्हका रूपमा पाँचकुने तारा अपनाइने निर्णय भएको छ । जसले एकता, समानता र सामूहिक नेतृत्वको प्रतीकका रूपमा अर्थ दिने बताइएको छ । राजनीतिक वृत्तमा प्रचण्डको यो पहललाई वाम शक्तिलाई एकीकृत गर्ने निर्णायक कदमका रूपमा लिइएको छ । उहाँको पहलले विभाजित कम्युनिष्ट धारलाई पुनः एक सूत्रमा बाँध्दै देशमा वैचारिक स्पष्टता र स्थायित्वको नयाँ बाटो खोल्ने विश्वास गरिएको छ । ‘नेपाली कम्युनिस्ट पार्टी’ काे घाेषणा ११ वजे काठमाडाैंकाे भृकुटी मण्डपमा आयाेजना हुने छ ।

