काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले जेनजीले उठाएका हरेक मागसँग माअेावादी सहकार्य गर्न तयार रहेकाे बताएका छन् । उनले जेनजीका सुरूवाती मागमा  आन्दोलनपूर्व र पछि पनि समर्थन जनाएकाे बताए ।  जेनजी युवाहरूसहित राजनीतिक दलका नेता तथा प्रधानमन्त्रीसहित सरकारका प्रतिनिधिहरुबीच गएराति अबेरसम्म चलेकाे बैठकमा नेता पुनले भने, ‘अहिले पनि हामी जेनजी युवाको मागमा समर्थन गर्न चाहन्छौं । हामीले सरकारमा वा प्रतिपक्षमा हुँदा सुशासन र भ्रष्टाचार नियन्त्रणमा काम गरेका वा आवाज उठाएका थियौं । त्यस कारण भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने एजेण्डामा हामी र जेनजीबीच निकटता छ । त्यही कारण हाम्रो आन्दोलनमा र पछि पनि समर्थन रहेको हो ।’ नेता पुनले अब चुनावमा गएर देशलाइ संवैधानिक बाटाेमा लैजानुकाे विकल्प नभएकाे बताए । बैठकमा बाेल्दै नेता पुनले भनेका थिए, ‘२३ र २४ भदौपछिको अवस्थामा हामीले राजनीतिक र संवैधानिक प्रक्रिया सँगै जानुपर्छ भनेका हौं । सडकले नागरिक सरकार बनायो । यो सरकारलाई राजनीतिक दलको पनि समर्थन थियो ।  हामीले यो प्रक्रियालाई संसदले अनुमोदन गर्नुपर्छ भनेका थियौं, तर त्यो भएन । अब मुलुकलाई सही संवैधानिक प्रक्रियामा लाने भनेकै निर्वाचनमार्फत हो । सरकार निर्वाचनको तयारी र विश्वसनीय वातावरण निर्माणमा लाग्नुपर्छ ।’ जेनजीका माग अनुसार २०४६ पछिका सबै भ्रष्टाचारकाे छानविन र दाेषीलाइ कारबाही गर्न तयार रहेकाे उनले बताएका थिए ।   ‘भ्रष्टाचार नियन्त्रण गर्न ०४६ पछि सार्वजनिक ओहोदामा बसेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न संयन्त्र बननाउने हो भने पनि हामी समर्थन र सहयोग गर्न तयार छौं । जेनजी आन्दोलनका सम्भव मागलाई सरकारले तत्काल सम्बोधन गरोस्, हाम्रो समर्थन रहनेछ । प्रत्यक्ष निर्वाचित राष्ट्रपति, सुशासन र भ्रष्टाचार नियन्त्रणको एजेण्डा लिएर हामी चुनावमा जान्छौं । हामी जेनजीसँग पनि चुनावी सहकार्य गर्न चाहन्छौं । हाम्रो तर्फबाट पनि जेनजीसँग निरन्तर संवाद जारी रहनेछ । जेनजीको लोकतन्त्र, संविधान, वर्तमान व्यवस्था र निर्वाचनप्रतिको प्रतिबद्धताप्रति पार्र्टीको तर्फबाट उच्च सम्मान छ । हामी जेनजी आन्दोलनको भावनाअनुसार आफूलाई रुपान्तरण गर्न पनि तत्पर छौं ।’ नेता पुनले सरकारले निर्वाचनको वातावरण बनाएमा माअेावादी होमिन तयार रहेकाे बताएका थिए ।