पर्यटकले पोखरा भरिभराउ : लामो बिदाले बढायो आन्तरिक पर्यटन

अध्यक्ष सुवेदीका अनुसार पोखराको पर्यटन क्षेत्रमा हाल करिब रु आठ खर्बबराबरको लगानी भएको छ । सोमध्ये करिब रु ६ खर्ब होटल व्यवसायमै लगानी भएको छ भने प्रत्यक्ष रूपमा करिब १५ हजार व्यक्ति यस क्षेत्रको रोजगारीमा आश्रित छन् ।
पोखरामा करिब एक हजार २०० पर्यटकीयस्तरका होटल सञ्चालनमा छन्, जसमा ७०० वटा लेकसाइड र ड्यामसाइड क्षेत्रमा केन्द्रित छन् । एक रातमा करिब ४० हजार पाहुना समायोजन गर्न सक्ने क्षमता पोखराका होटलमा रहेको छ । हाल पोखरामा एउटा फाइभस्टार, ६ फोरस्टार र करिब ३० थ्री, टु र वन–स्टार लक्जरी होटल सञ्चालनमा छन् ।
आन्तरिक पर्यटकमा पदयात्राप्रति पनि उत्साह देखिएको छ । पोखरा पदयात्रा ९ट्रेकिङ० का लागि एक महत्त्वपूर्ण प्रवेशद्वार हो । अन्नपूर्ण बेस क्याम्प ट्रेक, मर्दी हिमाल ट्रेक, घोरेपानी–पुनहिल ट्रेकजस्ता विश्व–प्रसिद्ध पदमार्ग पोखराबाटै सुरु हुन्छन् । यी पदमार्गले हरेक वर्ष हजारौँ ट्रेकरलाई आकर्षित गर्छन्, जसले पोखराको पर्यटनमा थप विविधता ल्याएको छ ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पोखराका अध्यक्ष कृष्ण आचार्यले भने, ‘पोखरा नेपालका लागि पदयात्राको प्रवेशद्वार हो । अन्नपूर्ण क्षेत्रमा रहेका अनगिन्ती सुन्दर पदमार्गले यस क्षेत्रलाई विश्वभरका ट्रेकरका लागि आकर्षक गन्तव्य बनाएका छन् । अहिले आन्तरिक र बाह्य पर्यटकको आगमन उत्साहजनक देखिएको छ ।’
उनले पोखराको पर्यटनलाई दिगो र समृद्ध बनाउन यी पदमार्गको संरक्षण र प्रवर्द्धनमा सरकारले चासो बढाउनुपर्ने बताए । ‘यस याममा पोखरामा पर्यटकको चाप बढ्नु स्वाभाविक हो, तर हामी समग्र वर्षभरि नै पदयात्रा पर्यटनलाई सक्रिय राख्न चाहन्छौँ’, आचार्यले भने ।
उनका अनुसार केही दिनयता कास्कीको छोमरोङ, पोथना, विरेठाँटी लमजुको बेँसीसहर, म्याग्दीको घासा गरेर पाँच चेकपोष्टबाट विदेशी पर्यटक दैनिक हजारदेखि एक हजार २०० र नेपाली चार हजारदेखि चार हजार ४५ सम्म पदयात्रामा जाने गरेका तथ्याङ्क छ ।
रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराका अध्यक्ष विश्वराज पौडेलले पनि लामो समयपछि पोखरामा पर्यटकको आगमन उत्साहजनक देख्न पाएकामा खुसी व्यक्त गरे । ‘दसैँभन्दा तिहारमा पर्यटकको आगमन राम्रो छ, “रेस्टुरेन्ट र बारमा पनि पर्यटकको चहलपहल बढेको छ । यसले हामी व्यवसायीलाई थप ऊर्जा दिएको छ’, उनले भने ।
पोखरा पर्यटन परिषद्का वरिष्ठ उपाध्यक्ष हरि भुजेलले यो मौसममात्र पर्यटनको आगमनले पर्यटन क्षेत्रको लगानी थेग्न नसक्ने भन्दै सबै मौसममा पर्यटन भित्र्याउने दीर्घकालीन योजना सरकारसँग हुनुपर्ने बताए । आन्तरिक तथा बाह्य बजारमा पोखराको सुन्दरता र विविधतालाई चिनाउन विशेष पहलको खाँचो छ ।
‘पोखरा प्राकृतिक, साहसिक र सांस्कृतिक पर्यटनको गन्तव्य हो, पोखराको पर्यटनलाई थप उचाइमा पुर्याउन सरकार र निजी क्षेत्रको सहकार्य र समन्वयको खाँचो छ,’ उनले भने । उनले प्राकृतिक प्रकोप, राजनीतिक अस्थिरता र महामारीको प्रत्यक्ष प्रभाव पर्यटन क्षेत्रमा पर्ने भएकाले राज्यले दिगो पर्यटन रणनीति अवलम्बन गरेर पर्यटन क्षेत्रलाई सुरक्षित राख्नुपर्ने बताए । पोखरालाई साहसिक पर्यटनको हबका रूपमा विकास गर्ने, नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्ने र पूर्वाधार विकासमा सहयोग पुर्याउने योजनाको भुजेलले खाँचो औँल्याए ।
सांस्कृतिक विविधता, र साहसिक गतिविधिको अनुपम सङ्गम, फेवातालमा डुङ्गा सयर, सराङकोटबाट सूर्योदयको दृश्यावलोकन, विश्व शान्ति स्तूपा भ्रमण, डेभिस फल्स र गुप्तेश्वर गुफाको अवलोकन, अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयजस्ता आकर्षणले पर्यटकलाई सधैँ लोभ्याउने गरेकाले यसलाई व्यवस्थित गर्नुपर्ने भुजेलको भनाइ छ ।
नयाँ अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै पोखरामा विदेशी पर्यटकको सङ्ख्या अझ बढ्ने अपेक्षा गरिएको छ । विशेषगरी फेवातालको किनारमा रहेका रेस्टुरेन्ट, क्याफे र पसलले साँझमा जीवन्त वातावरण सृजना गरिरहेका छन् ।
तालमा गरिने डुङ्गा सयर, ताल किनारमा साइक्लिङ वा पैदलयात्रा गर्दा पर्यटकले शान्ति र आनन्दको अनुभव गर्ने गर्दछन् । तालको बीचमा रहेको तालबाराही मन्दिरले पनि सांस्कृतिक महत्व बोकेको छ । –रासस

