एकता नजिक माओवादी–समाजवादीः बन्ने भयाे नेकपा समाजवादी !

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले दिएको दल दर्ताको समयसीमा हेर्दै माओवादी र एकीकृत समाजवादीले यही महिनाभित्रै पार्टी एकता गर्ने गरी छलफल अघि बढाएका छन् । एकताका लागि वैचारिक–सैद्धान्तिक सवालमा समानता भए पनि संगठनात्मक र केही प्राविधिक विषय टुंग्याउन बाँकी रहेको दुवैतर्फका नेताले बताएका छन् । २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि ३० कात्तिकभित्र दल दर्ताको समयसीमा छ । निर्वाचन प्रयोजनका लागि पुन: दल दर्ता गर्नुपर्ने संवैधानिक प्रावधानले पनि सो अवधिभित्रै एकताको गृहकार्य तीव्र भइरहेको नेताहरू दाबी गर्छन् । एकतालाई लिएर दुवै पार्टीमा असन्तुष्टि पनि छन् । यसलाई ध्यान दिँदै एकताकेन्द्रित औपचारिक–अनौपचारिक छलफल जारी रहेको र चाँडै सहमति जुट्ने नेताहरूको विश्वास छ । माओवादी र एकीकृत समाजवादीबाहेक महिन्द्र राय यादव नेतृत्वको नेसपा, राजु कार्की नेतृत्वको नेकपा समाजवादी र प्रेमबहादुर सिंहबिच एकै चरणमा एकताको प्रयास छ । माओवादी प्रवक्ता अग्नि सापकोटाले विचार मिल्ने शक्तिहरू एकता गर्ने सैद्धान्तिक निर्णयअनुसार विभिन्न शक्तिसँग छलफल भइरहेको, तर एकताको समयसीमा टुंगिन बाँकी रहेको बताए । ‘विचार, सिद्धान्त मिल्ने दलहरूसँग एकताको निर्णय गरिसकेका छौँ । त्यसैअनुसार विभिन्न शक्तिसँग तीव्र र सघन छलफल भइरहेको छ । तर, एकता ठ्याक्कै कहिले भन्ने टुंगिएको छैन । छलफल गर्दै जाँदा एकताको विषय टुंगिन्छ,’ उनले नयाँ पत्रिकासँग भने । यो प्रक्रियामा सामेल हुन चाहेका दलहरूले मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद, क्रान्तिको कार्यक्रम नेपाली विशेषताको समाजवाद, दीर्घकालीन लक्ष्य वैज्ञानिक समाजवाद, संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता, बहुपद नरहने र पार्टी पुनर्गठनको सन्देश जाने गरी एकताको तयारी गरेका छन् । माओवादी र एकीकृत समाजवादीबिच नेपाली समाजको चरित्र पुँजीवादी छ भन्ने समान निष्कर्ष छ । उनीहरूबिच नेपाली समाजको मुख्य समस्या दलाल नोकरसाही पुँजीवाद भएकोमा पनि समान मत छ । माओवादीले मान्दै आएको माओवाद र एकीकृत समाजवादीले मान्दै आएको जनताको बहुदलीय जनवाद छोड्न तयार भएका छन् । कमिटी सानो आकारको बनाउने र तह पनि धेरै नराख्ने समझदारी रहेको बताइएको छ । तर, संख्या भने टुंगिएको छैन । हाल माओवादीको केन्द्रीय कमिटी चार सयहाराहारी र एकीकृत समाजवादीको केन्द्रीय कमिटी साढे तीन सयहाराहारीको छ । नेताहरू एकीकृत पार्टीमा अध्यक्ष पद नराख्ने समझदारीनजिक पुगेका छन् । तर, त्यसको विकल्पमा के राख्ने भन्नेमा छलफल जारी छ । नेतृत्वको विषय टुंग्याउने जिम्मा माओवादी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई दिइएको नेताहरूले बताएका छन् । प्रचण्ड र नेपाल नियमित सम्पर्कमा छन् । नेपालले केन्द्रीय समिति बैठक बोलाएका छन् भने प्रचण्डले पनि सचिवालय बैठक बोलाउने तयारी गरेका छन् । निर्देशक वा परामर्श समिति बनाउने कि भन्ने विषयमा पनि छलफल चलेको छ । एउटा मूल काम गर्ने सचिवालय रहने र अरू सदस्य बन्ने मोडलमा पनि छलफल भएको छ । तर, टुंगिन बाँकी रहेको वार्तामा सहभागी एक नेताले बताए । चुनाव चिह्न के राख्ने भन्नेमा पनि छलफल जारी छ । एकीकृत समाजवादीको कलम राख्ने कि नयाँ खोज्ने भन्ने विषयमा कुराकानी भइरहेको छ । छलफल जारी रहेको र एकताको विषय टुंगिन बाँकी रहेको एकीकृत समाजवादीका उपाध्यक्ष एवं वार्ता टोली सदस्य प्रकाश ज्वालाले बताए । ‘एकीकृत पार्टीको नेतृत्वको पदीय हैसियत कस्तो रहने भन्ने टुंगिएको छैन । सानो र चुस्त कमिटी बनाउने तथा धेरै तह र पद नबनाउने भन्ने छ । अब अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवलगायत धेरैवटा पद नराख्ने भन्ने छ । मूल नेतृत्वमा कस्तो मोडल अपनाउने भन्नेबारे शीर्ष नेतालाई जिम्मा दिइएको छ,’ ज्वालाले भने । पार्टी एकताको विषयमा तिहारमा प्रचण्ड नेतृत्वको माओवादी, नेपाल नेतृत्वको एकीकृत समाजवादी, महिन्द्र राय नेतृत्वको नेसपा, राजु कार्की नेतृत्वको नेकपा समाजवादी र प्रेमबहादुर सिंहबिच एकताकेन्द्रित छलफल भएको छ । कार्की नेतृत्वको नेकपा समाजवादी एकीकृत पार्टीको नाम राख्ने विषयमा पनि छलफल भएको छ । विप्लव नेतृत्वको नेकपा, अशोक राई नेतृत्वको जसपा र उपेन्द्र यादव नेतृत्वको जसपा नेपालसँग पनि एकताको विषयमा कुराकानी भइरहेको नेताहरू बताउँछन् । एकीकृत समाजवादीका अध्यक्ष नेपालले निकट नेताहरूसँग गणतन्त्र, संविधानका पक्षधर र समाजवादी शक्तिसँग एकताको विषयमा छलफल चलिरहेको बताएका छन् । विचार, सिद्धान्त, कार्यक्रम र मन मिल्नेसँग एकता गरेर जाने भन्दै नेपालले मनोवैज्ञानिक रूपमा तयार रहन भनेका छन् । यसैका लागि एकीकृत समाजवादीले आगामी १२ र १३ कात्तिकमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । उक्त बैठकमा पार्टी एकताको विषयमा छलफल हुनेछ । सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत नेता माओवादीसँग एकता गर्न नहुने पक्षमा छन् । तर, बहुमतको निर्णय मान्य हुने भएकाले केन्द्रीय कमिटीले एकताको निर्णय गरेर अघि बढ्ने तयारी छ । ‘अहिले एकताको समय होइन, पार्टी पुनर्गठन गरेर जाने हो । हामी केन्द्रीय कमिटीमा सोही ढंगले प्रस्तुत हुन्छौँ,’ पोलिटब्युरो सदस्य एवं प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले भने । माओवादीमा पनि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य जनार्दन शर्मालगायत नेताहरू असन्तुष्ट छन् । प्रचण्डनिकट मानिएकै कतिपय नेताले पनि हतारमा नभई परिपक्व एकता प्रक्रियामा जोड दिएका छन् । माओवादी संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कुनै शक्तिसँग एकता टुंगोमा पुगिनसकेको बताएको छ । ‘नेपाली समाजवादी क्रान्तिको कार्यभार पूरा गर्न एकता र संयुक्त मोर्चा निर्माण अपरिहार्य रहेको छ । यद्यपि, अहिले नै कुनै दलसँग एकता गर्ने वा अन्य वैचारिक–सांगीतिक निर्णय अहिले टुंगोमा पुगेको छैन,’ प्रचण्डको सचिवालयले भनेको छ, ‘इतिहासले देखाएको आवश्यकतालाई मनन गर्दै अहिले विभिन्न पक्षसँग सघन छलफल भइरहे पनि सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममार्फत प्रचारमा आएको कुरा सत्य होइन ।’ केही सञ्चारमाध्यममा माओवादी र समाजवादीबिच एकताका लागि सबै सहमति भइसकेको समाचार आएपछि प्रचण्डको सचिवालयले प्रतिक्रिया सार्वजनिक गरेको हो । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिस्टहरूबिचको एकताको आवश्यकता झनै बढेको बताएका छन् । पाँचबुँदे धारणा सार्वजनिक गर्दै विप्लवले पार्टी एकतालाई सकारात्मक रूपले लिनुपर्ने बताएका छन् । ‘कम्युनिस्टहरूबिचको एकताको आवश्यकता झनै बढेको छ । एकता संगठनलाई एक बनाउनेसँग मात्र सम्बन्धित छैन, यसका विचार, सिद्धान्त, लक्ष्य, आर्थिक दृष्टिकोण, जीवन व्यवहार, संस्कृतिसहितको एकरूप बुझाइसँग सम्बन्धित छ । यी विषयमा नेतृत्व तहमा पहिलेदेखि गम्भीर छलफल चलेका छन्, तर टुंगो लागिसकेको छैन । यदि कुनै पार्टीहरूबिच एकता हुन्छ भने सकारात्मक रूपले लिनुपर्छ,’ विप्लवले भनेका छन् । कम्तीमा कम्युनिस्टबिच विगतमा जस्तो शत्रुतापूर्ण सोच नबनाई प्रधान अन्तरविरोध हल गर्न, देशमा नेपाली विशेषताको समाजवाद (अग्राधिकारसहितको संघीयता) स्थापना गर्न संयुक्त मोर्चा र सहकार्यको नीतिमा काम गर्नुपर्नेमा उनले जोड दिएका छन् । देशको स्वाधीनता गम्भीर संकटमा परेको स्थितिमा सबै देशभक्त, समाजवादी, कम्युनिस्ट शक्तिहरूबिच मोर्चा निर्माणमा अग्रसर हुनुपर्नेमा उनले जोड दिएका छन् । नयाँ पत्रिकाबाट

