केन्द्रीय समिति बैठकमा पार्टी एकताको पक्षमा स्पष्ट धारणा राखिए पनि नेतृत्वले दुई अर्थ लाग्ने गरी निर्णय सुनाएको एक स्थायी समिति सदस्यले बताए । उनले भने, “हामी माओवादी जनयुद्धको पृष्ठभूमिबाट आएका हौँ । बैठकमा बोल्ने ८० प्रतिशतभन्दा बढी सदस्यहरूले अहिले नै पार्टी एकता गरी अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । तर, मुख्य नेतृत्वलाई प्रभावित पार्ने व्यक्तिहरूले नै पार्टी एकता हुन नदिने गरी महासचिव कमरेडलाई दबाब दिए । त्यसैले अधिकांशको धारणा विपरीत नेतृत्व गएको छ ।”

महासचिव विप्लवले विभिन्न सञ्चारमाध्यममा आएका पार्टी एकतासम्बन्धी समाचारहरूको खण्डन गरी एकताको पक्षमा देखाउने प्रयास गरे पनि त्यसो नभएको ती स्थायी समिति सदस्यले दाबी गरे । उनले भने, “हामी केही समय कुर्ने पक्षमा छौँ । नेतृत्व तयार नभएको अवस्थामा हामीले नयाँ निर्णय गरी अगाडि बढ्छौँ । अहिले पार्टी एकता गरी बलियो कम्युनिस्ट पार्टी निर्माणका लागि काम गर्ने हो । व्यक्तिगत इच्छा र आकांक्षा पूरा गर्न पार्टी बनाइएको होइन । अहिले त्यस्तै भएको छ ।”

विप्लव नेकपाका अधिकांश नेताहरू समाजवादी मोर्चामा आबद्ध दलहरूबीचको एकता प्रक्रियामा सामेल हुने तयारीमा छन् । ती नेताले भने, “हामीले नेतृत्वको अबको बाटो हेरिरहेका छौँ । होइन भने नेपाल कम्युनिस्ट पार्टी पार्टी एकतामा सामेल हुनेछ । तलसम्मका साथीहरूको धारणा पनि त्यही छ ।”

नेकपाको नेतृत्वमाथि व्यक्ति प्रधान गतिविधिको आरोप पनि लगाइएको छ । ती स्थायी समिति सदस्यले भने, “माओवादी केन्द्र र समाजवादीका असन्तुष्ट नेताहरूलाई समेटेर नेतृत्व बन्ने ध्यानमा हाम्रो नेतृत्व छ । तीभन्दा पहिले हामीसँग मोहन वैद्य किरण, रामबहादुर थापा ‘बादल’, देव गुरुङ, पम्फा भुसाल लगायत दर्जनौं नेताहरू थिए । किन पार्टी बनेन भन्ने जवाफ नेतृत्वले खोज्दै खोजेन । अहिले सबै भएर ‘मलाई नेतृत्व देऊ’ भनेर कहाँ हुन्छ ?”

विप्लव नेतृत्वको नेकपाका अधिकांश नेताहरूले पार्टी एकतामा जोड दिइरहेका छन् । उनीहरूले समाजवादी मोर्चामा आवद्ध दलहरूबीच एकता हुँदा नेतृत्व छाडेर भए पनि एकताको पक्षमा उभिने बताउन थालेका छन् ।